लुम्बिनी प्रदेश

बैंकिङ्ग कसुर मुद्दामा लुम्बिनी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी


बुटवल – बैंकिङ्ग कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । त्यसयता सांसद रायमाझी फरार छिन् ।

पर्साको पोखरिया बस्ने आशाकुमारी चौहानले बैंकिङ्ग कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेख्दै सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो।

आशाकुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङ्ग सम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग ५ लाख ५० हजार रुपैयाँ सापटी लिएकी थिइन् ।

रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य रायमाझीले २०८१ भदौ ७ गते दुई लाख ७५ हजार रुपैयाँको चेक आशा कुमारीलाई दिएकी थिइन् । तर, त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । लामो समयसम्म पैसा नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।

पक्राउ पुर्जी जारी भएकी प्रदेश सभा सदस्य रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् । पछि माओवादी केन्द्रबाट मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषदमा उनी कृषि मन्त्री बनेकी थिइन् ।