सुदूरपश्चिमका बैंक तथा वित्तीय संस्थाकाे निक्षेपमा गिरावट, कर्जा प्रवाहमा सबैभन्दा बढी कैलालीको हिंस्सा


काठमाडौं – नेपाल राष्ट्र बैंकको अर्धवार्षिक तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपमा गिरावट देखिएकाे छ । केन्द्रीय बैंकले  सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरूको स्थलगत तथा गैरस्थलगतरुपमा अध्ययन गरी आर्थिक वर्ष २०८१/८२ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा ३.१३ प्रतिशतले गिरावट देखिएकाे हाे ।

तथ्यांकअनुसार ३.१३ प्रतिशतले ह्रास भई १ खर्ब ४४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ  पुगेको छ ।  गत वर्षको सोहि अवधिमा यस्तो निक्षेप १.९१ प्रतिशतले बढेको थियो । २०८१ पुस मसान्तसम्म कुल निक्षेप अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ७.९६ अर्ब रूपैयाँले बढेको छ ।

 २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असार मसान्तको तुलनामा ०.२७ प्रतिशतले वृद्धि भएर १ खर्ब ५३ अर्ब २६ करोड ६२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२८ प्रतिशतले घटेको थियो ।

२०८१ पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १२.६० अर्ब रूपैयाँले बढेको छ । समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४८.६० प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.२७ प्रतिशत रहेको छ ।

त्यसैगरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७७ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् १.०१ प्रतिशत प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।