बैंकिङ्ग प्रणालीमा तरलताको चाप यथावत्, आज फेरि ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक 


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार थप ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । सोमबार (जेठ १९) गते मात्र ७० अर्ब निक्षेप सङ्कलन गरेको केन्द्रीय बैंकले आज थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असार ११ गते हुनेछ ।

यसअगाडि केन्द्रीय बैंकले जेठ ४ गते २४ अर्ब रूपैयाँ, ७ गते ५० अर्ब रूपैयाँ, ११ गते ३० अर्ब रूपैयाँ र १४ गते ८० अर्ब रूपैयाँ, १९ गते ४० अर्ब रूपैयाँ तरलता प्रशाेचन गरेकाे थियाे ।