तेस्रो बैंकिङ्ग डिस्कोर्शः तेस्रो सत्रको वक्तामा फोन पेका सीईओ सापकोटा  


काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को तेस्रो सत्रको वक्ताका रूपमा फोन पेको प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा सहभागी हुने भएका छन्। सापकोटा बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ओपन बैंकिङ्ग  र फिनटेक: सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणामा वक्ताका रूपमा सहभागी हुने भएका हुन्। 

सापकोटा यस अघि फोन पेमै असिस्टेन्ट सीईओको रूपमा कार्यरत थिए। फोन पेमा प्रमुख प्राविधिक अधिकृतको रूपमा काम सुरु गरेका सापकोटा त्यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध रहेका थिए । एभरेस्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्ष भन्दा लामो समय काम गरेको अनुभव छ। आईटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोन पेलाई नयाँ उचाइमा पुर्‍याएको छ। 

डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्। उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ।

‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याःसमाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिःआर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।

यसबाहेक, पूर्व अर्थमन्त्री डा।प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ। डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन्।