अनधिकृत रुपमा गरिने बैंकिङ्ग कारोबार तथा कानुनी सजायबाट बच्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने उल्लेख गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो गर्न नहुने उल्लेख गरेको हो ।

बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अनुसार कसैले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा नक्कली कागजात पेश गरी खाता खोल्न वा त्यस्तो कागजात पेश गरी खाता खोल्न लागेको छ भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा अन्य व्यक्तिको खातामा रकमान्तर गर्न वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्नु नहुने बताएको छ ।

त्यस्तै, कानुनबमोजिम बाहेक अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्नु वा खाता खोलिदिन नहुने बताएको छ । यस्तो गरेमा कुनै कसूर गरेमा बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद सजाय समेत हुन सक्ने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकले अनधिकृत रुपमा गरिने बैंकिङ्ग कारोबार तथा कानुनी सजायबाट बच्न आग्रह गरेको छ ।