कर्णाली विकास बैंक डुबाएर भारत भागेका सीईओ राय यसरी परे सीआईबीको फन्दामा…

रकम अपचलनमा चार जना संलग्न


काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटक-पटक सञ्चालक समितिको अध्यक्षमा रहेका राजेन्द्र बहादुर राय फागुन १७ गते पक्राउ परेका छन् । प्रहरीले लामो समयकाे प्रयासपछि रायलाई पक्राउ गरेकाे हाे । नेपाल राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरोलाई २०८१ माघ ४ गते बैंकका सञ्चालकले अवैध रूपमा बचतकर्ताको रकम अपचलन गरेको जनाएको ब्युरोका प्रवक्ता युवराज खड्काले जनाएका छन् ।

बैंकको रकम अपचलनमा पूर्व सीईओ दिनेश कुमार राउत, निरज विक्रम शाह र वित्त अधिकृत वेद प्रकाश ठकुरी समेत संलग्न रहेको राष्ट्र बैंकबाट खटिएका व्यवस्थापक समूहका संयोजक टिकाराम खतिवडाले जनाएका छन् । यस बैंकले २०७१ मा लाभांश बाँडेको थियो । त्यसपछि बैंक सबै वर्ष निरन्तर रूपमा नोक्सानमा नै रहेको उनले बताए ।

राष्ट्र बैंकको आग्रहपछि ब्युरोले उनकाे खोजी कार्य गर्न सुरु गरेको थियो । पाँच महिनाको खोजीमा उनलाई ब्युरोबाट खटिएका अनुसन्धान टोलीले रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ गरेकाे ब्युरोका प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले पक्राउ गर्न ब्युरोलाई जिम्मेवारी दिनुभन्दा १५ दिन अगाडि नै राय फरार रहेको थिए ।

रायले बैंकका बचतकर्ताहरूको २ अर्ब ५० करोड रुपैयाँ अपचलन गरेको खुलेकाे छ । प्रवक्ता खड्काले बैकिङ्ग समाचारसँगको कुराकानीमा कर्णाली विकास बैंकमा बचतकर्ताहरूको ४अर्ब ९० करोड रहेको बताए । रायका बारेमा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरेर बाँके लगिएकाे छ ।

साथै, रायका बारेमा अन्य अनुसन्धान गर्न ब्युरोले डिएसपी दान बहादुर थापासहित ५ जनाकाे टाेलीलाई रुपन्देही पठाएकाे छ। जहाँबाट राय पक्राउ परेका थिए। उनलाई ब्युरोले विभिन्न प्रविधिका माध्यमबाट खाेजी गरी पक्राउ गरेकाे खड्काले बताए। पक्राउ हुनुभन्दा १ ५दिन अघि नै भारत फरार भएका उनी बेला बेलामा भारत नेपाल गरिरहेको कुरा अनुसन्धानको क्रममा खुल्न आएको उनले बताए ।

सीईओ राय राजनीतिक पृष्ठभूमिसँग पनि जोडिएका छन् । २०६० सालदेखिनै सक्रिय राजनीतिमा रहेका रायले २०७९ नेकपा एमाले सल्यानबाट चुनाव लडेका थिए । राय नेपाली काँग्रेस बाहेक अन्य पार्टीमा सबै पार्टीमा संलग्न भइसकेका छन् । उनी एमाले, माओवादी, समाजवादी राप्रपा, जस्ता देशका ठुला राजनीतिक दलहरूमा प्रवेश गरेको पाइएको छ । उनले अपचलन गरेको रकमहरू चुनाव खर्चका लागि पनि हुन सक्ने स्रोतले जनाएको छ ।

मध्यपश्चिम प्रदेशको पहिलो विकास बैंकको रूपमा २०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकले स्थापना कालदेखिनै बचतकर्ताको रकम अपचलन गर्ने गरेको खुल्न आएको राष्ट्र बैंकले जनाएको छ। बैंक समस्याग्रस्त घोषणा भएपछि राष्ट्र बैंकले ३ जना कर्मचारी खटाइ २०८१ पुसबाट ‘टेक ओभर’ गरेको थियाे ।

पछिल्लो समयमा राष्ट्र बैंकले कर्णाली विकास बैंकको सम्पूर्ण व्यवस्थापन नै आफूले लिएर अनुसन्धान गर्दै आइरहेको छ । राष्ट्र बैंकले उक्त बैंकका बचतकर्ताहरूको रकम एक जना व्यक्तिहरुलाई ५ देखि २५ हजार रूपैयाँका दरले वितरण गर्दै आएको केन्द्रिय बैंकबाट टिएका व्यवस्थापक समूहका संयोजक टिकाराम खतिवडाले जनाएका छन्। वृद्ध र बिरामी बचतकर्ताहरुलाई ध्यानमा राखेर उक्त रकम प्रदान गरिएको उनले बताएका छन् ।

हालसम्ममा राष्ट्र बैंकले बचतकर्ताहरूको ५० करोड जति रकम फिर्ता गरिसकेको उनले बताए । उनका अनुसार अब ४ अर्ब ४० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्न बाँकी रहेको छ । बैंकलाई पूर्ण जीवित गराएर सक्षम बनाएर आफूलाई नै स्वतन्त्र रूपमा सञ्चालन गर्न लगाउने र स्वतन्त्र रूपमा सञ्चालन गर्ने नसकेमा अन्य संस्थाहरू मर्ज गराएर निक्षेपकर्ताहरुको रकम उक्त बैंकको माध्यमबाट फिर्ता गर्ने योजना रहेको उनले बताए । 

सीईओ पक्राउ परेपछि झन् यस घटनाहरूमा अनुसन्धान गर्न सहज हुने आशा पलाएको उनी बताउँछन् । राष्ट्र बैंकले रायको सम्पत्ति पहिला नै रोक्का गरिसकेको उनले बताए । उनको सम्पत्ति बिकी तथा लिलामी गरेर बचतकर्ताहरूको निक्षेप फिर्ता गर्ने खतिवडाले बताए ।

आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख होबेन्द्र बोगटीले राष्ट्र बैंकले २०७० सालबाट नोक्सानीमा रहेको बैंकको प्रत्येक वर्ष निरीक्षण र सुपरिवेक्षण गर्दा समेत कर्णाली विकास बैंक अवस्थाबारे जानकारी प्राप्त गर्न नसकेको बताएका छन् । बैंकमा ४ अर्ब ९० करोड बचत रकम रहेको र निवेदन आवेदन २ अर्ब ६० करोड रुपैयाँको परेको उनले बताए । उनले भने,’ राष्ट्र बैंकले सधैँ डुब्ने बैंकको कसरी राम्रो रिपोर्ट बनायो ?’