तेस्रो बैंकिङ्ग डिस्कोर्शः वक्ताका रुपमा निफ्राका सीईओ अधिकारी सहभागी हुने


काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्रको वक्ताका रुपमा नेपाल इन्फ्राइस्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको पहिलो सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ सत्रमा वक्ताका रुपमा सहभागी हुने भएका हुन् ।

२०६१ देखि बैंकिङ्ग करियर सुरु गरेका अधिकारीले १६ वर्ष नेपाल बैंकमा काम गरे । उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् । उनीसँग कर्जा शाखामा काम गरेको अनुभव छ । नेपाल बैंकमा सहायक पदबाट प्रवेश गरेका उनले २ कार्यकाल सीईओ बनेर बाहिरिए । केही समययता भने उनी निफ्रामा सीईओको भमिकामा छन् ।

डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, कोइरालासहित राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।

‘नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति स् आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।

यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।