काठमाडौं – नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ्ग क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। उनले कोभिड–१९ को महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पुर्याएको सकारात्मक योगदानको प्रसंशा गरे। उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ्ग क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए।
निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए। नेपालको बैंकिङ्ग क्षेत्रले विगतको गल्तिहरुबाट सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिनतर्फ सतर्क रहनुपर्ने बताए। उनले भविष्यमा आवश्यक परेमा बैंकिङ्ग क्षेत्रलाई आफ्नो ज्ञान, अनुभव तथा सल्लाहमार्फत सघाउन आफू सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यसैगरी, नव नियुक्त गभर्नर डा. पौडेलले पनि नेपालको बैंकिङ्ग क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे। उनले राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था जुन प्रभावकारी रहेको र ति नीतिहरूमा कुनै ठूलो परिवर्तन नगरी निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट धारणा राखेका थिए। गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ्ग क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ्ग क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यसको लागि उनले सबैको साथ र सहयोगको लागि अनुरोध गरे।



About Us
प्रतिक्रिया