तेस्रो नेशनल बैकिङ्ग डिस्कोर्शः वक्ताको रूपमा मनोज ज्ञवाली सहभागी हुँदै 


काठमाडौं – तेस्रो  नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नबिल बैंकका एक्टिङ सीईओ मनोज कुमार ज्ञवाली सहभागी हुने भएका छन्। छलफलको पहिलो  सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा ज्ञवाली सहभागी हुने भएका हुन् । 

वि.सं.२०३४ सालमा दैलेखमा जन्मिएका ज्ञवालीले ५ वर्ष नेपाल राष्ट्र बैंकमा सहायकको रूपमा सेवा गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेका उनले ग्लोबल आईएमई बैंकको सीएफओ, सीईओ, बीएम र शीर्षस्तरको व्यवस्थापन समिति सदस्य समेत रहेर कार्य गरिसकेका छन्। साथै, उनले ग्लोबल आईएमई क्यापिटलमा सञ्चालक र प्रबन्ध निर्देशकको रूपमा ४ वर्ष बिताएका छन् भने ज्योति विकास बैंकमा डिसीईओ र सीईओको रूपमा पनि सेवा गरिसकेका छन्। 

नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक हुँदै बैंकिङ्ग क्षेत्रमा काम गरेका ज्ञवाली हाल नबिल बैंकका सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन् । उनी ज्योति विकास बैंकमा कार्यरत रहँदा विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनका महासचिव पनि रहेर कार्य गरेका थिए । चाटर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवाली एक समय चाटर्ड एकाउन्टेन्स संघका कोषाध्यक्ष थिए ।

ज्ञवाली फोकस नेपालद्वारा राष्ट्रिय सेवा सम्मान २०७४, नागरिक समाज नेपालद्वारा आर्थिक विकास सेवा सम्मान २०७५, लुम्बिनी कलेजबाट विद्यार्थी अभिमुखीकरण मान्यता पुरस्कार–२०७८ र उत्कृष्ट बैंकिङ्ग नेतृत्व पुरस्कार २०२४ बाट सम्मानित भएका छन्। उनले हालसम्म भारत, चीन, मकाउ, थाइल्याण्ड, मलेसिया, अस्ट्रेलिया, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, जर्मनी लगायतका देशहरू भ्रमण गरिसकेका छन् । 

बैंकिङ्ग समाचारको आयोजनामा यही जेठ २२ गते तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५’ आयोजना हुने भएको छ। सन् २०२३ देखि आयोजना हुँदै आइरहेको राष्ट्रिय स्तरको बैंकिङ्ग डिस्कोर्शको तेस्रो संस्करण यही जेठ २२ गते हुने भएको हो। काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा जेठ २२ गते तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ आयोजना हुने भएको हो ।

कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ । ‘नेपालमा कर्जा विस्तारको चुनौती : लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या : समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति : आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।

यसबाहेक, पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।