काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को विशेष सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शकाे विशेष सत्रमा मिश्र सहभागी हुने भएका हुन् ।
पाँचथर जन्मथलो भएका मिश्रले अमृत साइन्स क्याम्पसबाट फिजिक्स पढेका छन् । मिश्रले केही समय पत्रिका बाँड्ने काम समेत गरेका छन् । उनले एक विद्यालयमा अध्यापन समेत गराएका छन् । उनले पढाउँदै गर्दा तत्कालिन नेपाल अरब बैंक अहिलेको नबिल बैंकबाट जागीरे जीवन सुरु गरेका थिए ।
उनले एमबीए गर्दा एनआईसी एशिया बैंकमा समेत काम गरे । उनले त्यहाँ काम गर्दै गर्दा नेपाल राष्ट्र बैंकमा पनि जागिर खुलेको थियो । त्यसपछि उनी राष्ट्र बैंक छिरे । केन्द्रीय बैंकको विरगंज कार्यालय, वित्तीय संस्था सुपरीवेक्षण, विदेशी विनिमय विभाग जस्ता विभागमा रहेर काम गरिसकेका छन् । उनले भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक, विदेशी विनियम विभागको प्रमुख समेत बनेर काम गरिसकेका छन् ।
डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, कोइरालासहित राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।
‘नेपालमा कर्जा विस्तारको चुनौती : लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या : समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति : आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा।प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।






About Us
प्रतिक्रिया