काठमाडौं – बैंकिङ्ग समाचारको आयोजनामा यही जेठ २२ गते तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५’ आयोजना हुने भएको छ। सन् २०२३ देखि आयोजना हुँदै आइरहेको राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्शको तेस्रो संस्करण यही जेठ २२ गते हुने भएको हो। काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा जेठ २२ गते तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ आयोजना हुने भएको हो ।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरु तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले जानकारी दिए । बैंकिङ्ग क्षेत्रको दिगो विकास र स्थायीत्वमा नीतिगत निर्णय र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्यसहित प्रत्येक वर्ष डिस्कोर्श आयोजना गर्दै आइरहेको प्रबन्ध निर्देशक ढुंगेलले बताए । योसहित डिस्कोर्श आयोजनाको मुख्य लक्ष्य बैंकिङ्ग क्षेत्रको समस्या पहिचान गर्नु समेत रहेको आयोजकको भनाइ छ ।
कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ । ‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलाे र दाेस्राे सत्र छन् । यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरु समेत रहेका छन्।






About Us
प्रतिक्रिया