स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार छैटौं पटक पायो उच्च रेटिङ ‘ट्रिपल ए’


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगातार छैटौं पटक उच्च रेटिङ ‘ट्रिपल ए’ पाएको छ। इक्रा नेपालले बैंकलाई यस्तो रेटिङ दिएको हो। वित्तीय जिम्मेवारीहरू समयमै पूरा गर्न सक्ने यो रेटिङले संकेत गर्छ । यसले बैंकको प्रणाली एकदमै सुरक्षित रहेको देखाउँछ।

रेटिङमा भनिएको छ, ‘बैंकको २०२५ को मध्य अप्रिलमा जोखिम भारित सम्पत्तिको आधारमा पुँजी अनुपात १७.४४ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १५.१५ प्रतिशत छ, जबकी यस्तो न्यूनतम अनुपात क्रमशः ११ प्रतिशत र ८.५ प्रतिशत हुनुपर्छ।’ यसले बैंकको पुँजी आधारमा बलियो रहेको संकेत गर्छ। बैंकको निष्क्रिय कर्जा पनि १.४४ प्रतिशत मात्रै छ। जबकि यो अवधिमा समग्र वाणिज्य बैंकहरूको  यस्तो कर्जा औसत ५.०५ प्रतिशत छ।  

बैंकको कोष लागत पनि समग्र क्षेत्रको तुलनामा सबैभन्दा कम छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख गोरख राणाले भने, ‘हामीले लगातार छैटौं पटक ‘एएए रेटिङ’ पाएका छौं। यसले निरन्तर स्थिरताका हामीले मूल्य मान्यतामा रहेका हाम्रा ग्राहक तथा सेवाग्राहीलाई सेवा दिइरहेको पुष्टि गर्छ। यो रेटिङ हाम्रो सम्पूर्ण टोलीको समर्पणको मापन पनि हो।’

बैंकिङ्ग उद्योगमा निरन्तर सम्पत्तिको गुणस्तरमा बढ्दै गएको दबाब बाबजुद यस बैंकको अवस्था राम्रो रहेको इक्रा नेपालले उल्लेख गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड समूहको ७० प्रतिशत लगानी रहेको यस बैंक १९८७ देखि सञ्चालनमा छ। बैंकको समूहबाट समेत आवश्यक निरीक्षण भइरहने गरेको छ।