विदेशी मुद्रा सटही सम्बन्धमा के छ व्यवस्था ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५००.९ वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्ने बताएकाे छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै विदेश भ्रमण र रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटही सम्बन्धमा रहेको व्यवस्थाको जानकारी गराएको हो ।

यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने उल्लेख छ । ‘वैदेशिक रोजगारीको लागि जापान, दक्षिण कोरिया, यूरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन्’ केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । राहदानी सुविधाबापत सटही सुविधा माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेश गर्नुपर्नेछ । केन्द्रीय बैंकले विदेशी मुद्रा सटही सम्बन्धमा जानकार बन्नुपर्ने बताएको छ ।