शिक्षण पेशा त्यागेर प्रहरीमा जोडिएका महानिरीक्षक दिपक थापा


काठमाडौं – घरमा बिहेको माहौल तातिँदै थियो । यता प्रहरी निरीक्षक (इन्स्पेक्टर) परीक्षा पनि सोही दिनमा परेको थियो । परिवारको दबाबका कारणले गर्दा विवाह गर्नु नै पर्ने थियो । तर, संयोगले इन्स्पेक्टरको परीक्षा अर्को दिनलाई सर्‍यो । जसले गर्दा आज नेपालका लगभग ८० हजार प्रहरीहरूको प्रमुखकोरुपमा रहेर काम गर्दै छन्, दिपक थापा।

समाजमा शान्ति, सुव्यवस्था गर्न अपराध नियन्त्रण गर्ने, अपराध अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन गर्ने लक्ष्यसहित प्रहरी परिचालन हुन्छन् । जसका लागि प्रहरीका विभिन्न विभागहरू, तहहरू विकास गरिएको छ । ‘जहाँ सर्वसाधारण रहेका हुन्छन्, तीनै सर्वसाधारणहरूसँग हातेमालो गरेर प्रहरीले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ,’ उनै महानिरीक्षक थापा बताउँछन्।

थापा नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक हुन् । उनी २०८१ चैत ४ गते पहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए । उनले सुदिप गिरि र टेकबहादुर तामाङ्गलाई पछि पार्दे प्रहरी महानिरीक्षकको पदमा बाजी मारेका थिए । उनको जन्म भक्तपुरको सुर्यविनायक– ८ मा २०२८ मसिंर ८ गते भएको थियो । मध्यमवर्गीय परिवारमा जन्मिएका उनले ३ कक्षासम्मको पढाइ गाउँमा नै अवस्थित शान्ति निकेतन प्राथमिक विद्यालयमा गरे।

बाल्यकालमा पढ्न र खेलकुदमा रुचि राख्ने उनले ४ र ५ कक्षा चाँगुनारायण मावीबाट मामा घरमा बसेर गरेका थिए। उनी सानैबाट पढाइमा अब्बल रहेकाले ६ र ७ कक्षा नपढी ८ कक्षामा पुगेका थिए । उनले ८, ९ र १० कक्षा बागेश्वरी माविबाट पढेका थिए भने २०४३ सालमा एसएलसी पास गरी भक्तपुर बहुमुखी क्याम्पसबाट आईए र बीए उर्तीण गरे । पढाइमा अब्बल रहेकाले आईए र बीएमा पढ्दा क्याम्पस टप नै गरेका थिए।

प्रहरी बन्नुभन्दा पहिला शिक्षण पेशामा आबद्ध
उनले २०४६ सालमा आईए पास गरेपछि शिक्षण पेसामा आबद्ध भएर भक्तपुरस्थित ओम सेकेन्डरी बोडिङ्ग स्कुलमा पढाउन सुरु गरेका थिए । उक्त स्कुलमा पढाउँदै गर्दा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको उनी बताउँछन् । स्थायी शिक्षक बन्ने मौका पाएपछि कन्या माविमा पढाउन थालेका थिए । ‘प्रहरी सेवामा प्रवेश गर्नुभन्दा अगाडि लगभग ५ वर्ष शिक्षण पेसा गरेँ,’ उनले बैंकिङ्ग समाचारसँग भने ।

शिक्षण पेसामाभन्दा पनि प्रहरी सेवामा लागेर काम गर्ने रुचि भएका कारण उनी प्रहरीको इन्स्पेक्टरकाे पदबाट प्रहरीतर्फ लागेका थिए । उक्त समयमा भक्तपुरका नागरिकको पहिलो रोजाइमा आर्मी, दोस्रोमा प्रहरी र त्यसपछि निजामती सेवामा थियो। सोही समाजबाट आएका उनीलाई पनि प्रहरीकाे जागिर खाने रहर जाग्यो । उक्त समयमा भक्तपुरका डिआइजीमा शम्बु थापा क्षेत्री थिए र उनको छोरा शैलेश थापा क्षेत्री पनि प्रहरीको इन्स्पेक्टर पदमा थिए । अन्य प्रहरीहरू र उक्त समयका अर्का इन्स्पेक्टर सकुन थापालाई देखेर उनीमा पनि प्रहरी बन्ने इच्छा जागेकाे थियाे ।

इन्स्पेक्टरको परीक्षामा विवाह परेपछि
२०५० सालको फागुन २१, २२ र २३ गते प्रहरीको परीक्षा थियो । त्यहीँ फागुन २२ गते उनको विवाह थियो । उनले विवाहको कारणले परीक्षा दिन नपाउने भएका थिए । घरबाट पनि विवाह गर्नुपर्छ भन्ने जोड आएपछि उनी विवाह नै गर्ने सोचमा पुगे र मण्डपमा बसे। तर, साे समयको प्रहरी निरीक्षकको परीक्षा सरेर चैत ६, ७ र ८ गते हुने तय भयो र उनले यस परीक्षा दिएर प्रहरीको जागिर सुरू गर्न पाए।

यी वर्ष करियरको ‘टर्निङ्ग प्वाइन्ट’
उनी २०५२ भदौ १९ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा आबद्ध भएका थिए । प्रहरीमा प्रवेश गर्दाको पहिलो तलब १९ सय मात्र रहेको थियो । ‘त्यसपछि पहिलो पटक तलब बढेर २९ सय पुग्यो,’ थापा सम्झन्छन् । त्यस्तै, २०६३ सालमा डिएसपी, २०७२ मा एसपी, २०७५ मा एसएसपी, २०७९ असार १७ मा डिआइजी, २०७९ चैत ६ मा एआईजी र २०८१ चैत ४ गते आइजिपी पदमा बढुवा भए ।

नेपालको द्धन्द्धत्मक समयमा प्रहरी सेवामा प्रवेश गरेका उनले प्रहरी भएर युएन मिसन जाँदा १५ महिना सुडान र १३ महिना लाइबेरीयामा काम गरेका थिए । साथै, उनले नेपालका विभिन्न जिल्ला, प्रदेशहरूमा प्रहरी परिचालन गरी काम गरे। सडक निमार्णको क्रममा ट्राफिक परिचालन गर्ने, विभिन्न तहका चुनावहरूमा प्रहरी परिचालन जस्ता काम गरेका उनले उपत्यका प्रहरी कार्यालयको प्रमुख, सीआईबीको प्रमुख भएर पनि काम गरिसकेका छन् ।

‘प्रहरीको इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी भएर काम गर्दासम्म परिवार सम्झने गर्थे । तर, हाल परिवारभन्दा पनि देश र नेतृत्वमा समय बित्ने गर्छ,’ उनले भने । प्रहरीको क्षेत्रमा पुर्याएका योगदानका कारणले गर्दा उनी प्रहरी महानिरीक्षकको पदसम्म आइपुग्न सफल भएका छन् । २४ सै घण्टा आफ्नो काम गर्नु प्रहरीको कर्तव्य रहेको उनी बताउँछन् । प्रहरीको काम कठिन भए पनि यसलाई एउटा अवसरको रूपमा लिनुपर्ने उनले बताए ।

उनले प्रहरी भएर काम गर्दा विभिन्नस्तरमा आइपर्ने चुनाैतीहरुकाे सामना गर्नुपर्‍यो । सर्वसाधारणप्रति बढी उत्तरदायी भई प्रहरीले आफ्नो आनीबानी परिवर्तन गरी जिम्मेवारी पुरा गर्न जरुरी रहेको उनी बताउँछन् । पछिल्लो समयमा हुने अपराधहरू प्रविधिको माध्यमबाट हुने गरेकाले अबको प्रहरी प्रविधिमैत्री बन्न आवश्य देख्छन् थापा । उनकाअनुसार प्रहरी बौद्धिक र शारीरिक दुवै किसिमले स्वस्थ हुन आवश्यक छ । बैंकिङ्ग समाचारसँग कुरा गर्दै महानिरीक्षक थापा भन्छन्, ‘नेपाल प्रहरीलाई पनि डिजिटल तथा वित्तीय अपराधका घटनाहरूलाई अनुसन्धान कसरी गर्ने भने विषयमा तालिम दिन आवश्यक रहेको छ, जसले गर्दा वित्तीय अपराधका घटनामा कमी आउने छ।’