चैत २४ गतेदेखि खाली बनेको गभर्नर पदमा अन्ततः डा. विश्वनाथ पौडेल आएका छन् । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको भूमिकामा नेतृत्वमा आएपछि विभिन्न अड्कलबाजी सुरु भएका छन् । अर्थतन्त्रलाई गहनरुपले बुझेका र योजना आयोगको नेतृत्व सम्हालिसकेकाले डा. पौडेलले देशको बैंक तथा वित्तीय संस्थालाई सही दिशा दिँदै समग्र अर्थतन्त्रलाई डोर्याउने अपेक्षा देशले लिएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकेर बिदा भएसँगै खाली भएको गभर्नर पदमा विभिन्न बाधा र अड्चन पार गरेर डा. पौडेल गभर्नर बनेर कार्यभार सम्हालिसकेका छन् ।
यससँगै, बैंक तथा वित्तीय संस्थाको अभिभावक तथा नियामक र सरकारको आर्थिक सल्लाहकारले नेतृत्व पाएको छ । नयाँ गभर्नर आएसँगै देशको बैंकिङ्ग क्षेत्रले गरेको आसा र अपेक्षा लगायत विषयमा केन्द्रीत रहेर लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालसँग बैंकिङ्ग बहसमा गरिएको कुराकानीको सम्पादित अंशः–
राष्ट्र बैंकको नेतृत्व खाली भएको डेढ महिनापछि सरकारले डा. विश्वनाथ पौडेललाई नियुक्त गर्यो । यो अवधिमा बैंकिङ्ग क्षेत्रले देखिने गरी नेतृत्वको अभावमा ठूला समस्या भोग्नुपरेन । मनोवैज्ञानिक असर चाँहि पर्यो वा परेन ?
नेपाल राष्ट्र बैंक नेतृत्वविहीन नै हुँदैन । किनकि, कायममुकायम गभर्नरले यस अवधिमा नेतृत्व गर्नुभयो । राष्ट्र बैंक प्रणालीमा चलेको संस्था भएकाले केही समय गभर्नर नहुँदा कायममुकायमबाट चल्छ । यही कारण, अर्थतन्त्रमा ठुलो प्रभाव पर्छ भन्ने हुँदैन। गभर्नर र सिनियर डेपुटी गभर्नर नै नभए पनि राष्ट्र बैंकमा नेतृत्व विहीनता आउँदैन र काम धमाधम भइरहन्छ । तर, बाहिर राजनीतिक कारणले गर्दा तरंगित बनेको छ ।
बजारमा नकारात्मकता फैलिएकाले सर्वसाधारणले खास कुरा बुझ्न पाएका छैनन् । गभर्नर डेढ दुई महिना नहुँदा मौद्रिक र बैंकिङ्ग क्षेत्र प्रभावित बन्दैनन् । यसअघि पनि साढे दुई वर्ष कायम कायममुकायम गभर्नरको भरमा राष्ट्र बैंक चलेकै हो । सरकारका पनि विभिन्न समस्या र अप्ठ्यारा हुन्छन् । यद्यपि, मौद्रिक नीति तत्कालै ल्याउनुपर्ने भएकाले बजेटपछि काम थाल्नुपर्छ, वित्त नीतिले लिएका लक्ष्य भेट्टाउन काम गर्नुपर्ने हुन्छ । यसतर्फ केही समस्या हुन्छ कि भन्ने रहे पनि सबै प्रणालीले गरिहाल्छ ।

विगतमा पनि राष्ट्र बैंक दुई वर्षभन्दा बढी समय कायममुकायमको भरमा चल्यो । सो समयमा नोटमा हस्ताक्षर समेत कामुबाटै भएको थियो । यतिबेला चाहिँ कामु गभर्नरलाई पूर्ण जिम्मेवारी दिएको थिएन । यस अर्थ बैंकिङ्ग क्षेत्रमा मनोवैज्ञानिक प्रभाव नै परेन ?
गभर्नर नहुँदा कामु गभर्नरले चलाउँदा बजारमा विभिन्न तरंग त आइहाल्छ । यसबीचमा सरकारले सुरुमा नै गभर्नर नियुक्त गर्थ्यो भने विभिन्न व्यक्तिहरूको नाम बिचौलियासँग मुछिँदैनथ्यो । यी विषयबाट पार पाइन्थ्यो । डेढ महिना अघि नै गभर्नर नियुक्त भएको अवस्थामा बजारमा फैलिएको नकारात्मकता रोकिन सहयोगी भूमिका खेल्थ्यो ।
अहिलेसम्म नेपाल राष्ट्र बैंक ‘रेपुटेड’ संस्थाकारुपमा थियो । तपाईँले भनेजस्तै यस पटक भाष्य चाँहि निर्माण भयो । गभर्नर एउटा प्रतिष्ठित पदकारुपमा थियो । यसबीचमा ४ पटक अदालतमा मुद्दा नै पर्यो भने विभिन्न गतिविधि भयो । यसले राष्ट्र बैंकको प्रतिष्ठामा आँच त आउँदैन ?
यसबीचमा भएका गतिविधिबाट राष्ट्र बैंकको प्रतिष्ठाभन्दा पनि राजनीतिक नेतृत्व निर्णयहीन बन्दा केसम्म हुन्छ भनेर हेर्ने मौका पाइयो । यो एउटा पाठ नै हो । ऐनमा स्पष्टरुपमा भएको व्यवस्थाअनुसार समयमा नै काम गर्दा समस्या नआउने विषय सरकारले बुझ्न पर्ने हो । बजारमा फैलिएका नकारात्मकता, मनोवैज्ञानिक प्रभाव लगायतका समस्या त परिहाल्छ नै । नयाँ गभर्नरले आफ्नो ‘भिजन’अनुसार कर्मचारीको जिम्मेवारी फेरबदल लगायतका काम समेत गर्न सक्ने अवस्था रहन्छ ।

जे होस् हामीले यतिबेला नयाँ गभर्नर पाइसकेका छौं । योजना आयोग सम्हालिसक्नु भएका र विभिन्न विश्वविद्यालयमा प्रोफेसरको भूमिका निर्वाह गरिसकेर अर्थतन्त्रलाई मिहिनढंगले बुझ्नु भएका गभर्नर आउनु भएको छ । अब बैंकिङ्ग क्षेत्रले उहाँबाट गर्ने अपेक्षा के–कस्ता रहन्छन् ?
उहाँ विद्वान अर्थशास्त्री हो । राष्ट्र बैंकमा जो गए पनि अर्थशास्त्री नै जानु उपयुक्त हुन्छ । गभर्नरज्यूले पद बहाली गर्दा नै ‘सुपरभिजन’लाई महत्त्व दिन्छु भन्नु भएको छ । ‘रेगुलेटर’को भूमिकामा मिहिनढंगले ‘माइक्रोम्यानेजमेन्ट’मा लाग्नुभन्दा सुपर भिजनलाई प्राथमिकतामा राख्नु उपयुक्त नै हो । सुपर भिजनपछि कानुन पालना नगर्ने बैंकलाई कारबाही गर्नु सुन्दर पक्ष हुन्छ । तर, एउटाले गल्ती गर्दा सबैलाई एउटै डालोमा राखेर नियन्त्रण गर्ने काम चाँहि गर्नुहुँदैन । सरकारको वित्त नीतिले राखेका लक्ष्यसँग तालमेल गर्ने गरी राष्ट्र बैंक अघि जानुपर्छ ।

‘फाइनान्सियल’ क्षेत्रलाई व्यवस्थित गरेर अर्थतन्त्रलाई डोर्याउने नीति र भिजन गभर्नरमा देखिएको छ । अहिले बैंकिङ्ग क्षेत्रमा तरलता बढी भएर लगानी गर्ने ठाउँ भेटिएको छैन । कुनै समय तरलता अभावका कारण लगानीका लागि आवश्यक रकम नै पाइँदैनथ्यो । यो अधिक तरलता र अभावलाई व्यवस्थित गरेर लैजानुपर्छ । गभर्नरले बैंकिङ्ग र वित्त क्षेत्रको विश्वास जितेर अघि बढ्नुपर्छ । उहाँको शालीनता देख्दा बैंकिङ्ग क्षेत्रले राम्रो नीति पाउँछ भन्ने विश्वास हामीले लिएका छौं ।

प्रतिक्रिया