काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो २९७ औं शाखा कार्यालय धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा विस्तार गरी शनिबारदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको छ। नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण तथा रिबन काट्दै शाखाको संयुक्त रूपमा समुद्घाटन गरेका हुन्।
समारोहमा नगरप्रमुख मण्डलले धनुषाधाम क्षेत्र पर्यटन र कृषि सम्भावनायुक्त क्षेत्र भएकोले राष्ट्रिय बैंकले यही क्षेत्रलाई प्राथमिकतामा राखी लगानी विस्तार गर्नुपर्ने धारणा राखे। उनले राष्ट्र बैंकमा सरकारको पूँजी रहेकोले यसलाई ‘जनताको बैंक’का रूपमा जनगणतासँग जोडिनुपर्ने आवश्यकता औंल्याए।
बैंकका प्रमुख कार्यकारी अधिकृत दवेन्द्ररमण खनालले ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप शाखा विस्तार भइरहेको बताए। उनले दक्ष जनशक्ति र प्रविधिमा आधारित सेवा प्रणालीका माध्यमबाट आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सक्षम रहेको जिकिर गरे।
समारोहमा प्रभातफेरी सहित नगर परिक्रमा समेत गरिएको थियो। कार्यक्रमको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले गरेका थिए भने सञ्चालन संगम महतले गरेका थिए। कार्यक्रममा उपप्रमुख विद्यादेवी भुजेल, वडा अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिक प्रतिनिधिहरू लगायत स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। हाल राष्ट्रिय वाणिज्य बैंकको सातै प्रदेश र ७७ जिल्लामा २९७ शाखा, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा क्रियाशील छन्।



About Us
प्रतिक्रिया