काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको वृद्धि देखिएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ७७ अंकको वृद्धि देखिएको हो । साताको ५ दिन नै कारोबार हुँदा नेप्सेमा २ दिन गिरावट आउँदा ३ दिन बढ्यो ।
यो साताभरि शेयर बजारमा ४२ अर्ब भन्दा माथिको कारोबार भएको हो । गत साता नेप्सेमा ४९ दशमलव ७७ अंकको गिरावट देखिएको थियो । गत साताको ४ दिन कारोबार भएको नेप्सेमा ४ दिन गिरावट आउँदा कारोबार ३४ अर्बको आसपासमा बजार बन्द भएको थियो । यस साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा २ दशमलव ७९ अंकको गिरावट देखिएको हो । सो दिन बजार २६ सय ९ दशमलव ५ अंकको बिन्दुमा बन्द हुँदा कारोबार रकम ८ अर्ब ४१ करोड ३९ लाख भन्दा पुगेको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबारको दिन सोमबार १९ दशमलव ३० अंकको वृद्धि आएको हो । यससँगै बजार २६ सय २६ दशमलव ३६ को बिन्दुमा रोकिएको थियो । यस दिन कारोबार रकम ७ अर्ब १३ करोड माथि पुगेको हो । साताको दोस्रो कारोबारको दिन दोहोरो अंकले नेप्सेमा वृद्धि आएसँगै तेस्रो दिन अर्थात् मंगलबार भारी अंकको वृद्धि देखिएको हो ।
मंगलबार नेपाल राष्ट्र बैंकमा गभर्नर आउने कुरामा चहलपहल चलिरहेको समयमा नेप्सेमा ४९ दशमलव ९ अंकको वृद्धि आएको थियो । यसदिन २६ सय ७७ दशमलव ४५ को बिन्दुमा रोकिएको हो । यसदिन नेप्सेमा ठुलो अंकको वृद्धि देखिएता पनि कारोबार न्यून थियो । यस दिन ७ अर्ब १६ करोड २२ लाख कारोबार रूपैयाँ पुग्याे ।
बुधबार गभर्नर नियुक्तिसँगै नेप्सेमा ७ दशमलव ९४ अंकको थियो । झिनो अंकको गिरावट देखिँदा बजार २६ सय ६९ दशमलव ५१ को बिन्दुमा रोकिएको हो । सो दिनको कारोबार रकम भने १० अर्ब माथि पुगेको थियो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्सेमा १९ दशमलव ४ अंकको वृद्धि आएको हो । यसदिन ९ अर्ब ६२ करोड ५२ लाख आसपास कारोबार भयाे । यससँगै बजार २६ सय ८८ दशमलव ५५ को बिन्दुमा बजार रोकिएको हो । गत साताको तुलनामा यस साता ८ अर्बभन्दा बढीको कारोबार भएको हो ।



About Us
प्रतिक्रिया