काठमाडौं – वित्तीय संस्थाका सञ्चालकहरुले जोखिम व्यवस्थापन कार्यमा वेवास्ता गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले २०२३/२४ को वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदनले अधिकांश संस्थाहरूका सञ्चालक समितिहरू सम्भावित जोखिमपूर्ण अवस्था वा संकटप्रति सजग नरहेको उल्लेख गरेको हो ।
राष्ट्र बैंकले धेरै संस्थाहरूमा भने जोखिम व्यवस्थापन समितिको प्रभावकारी निरीक्षण नदेखिएको समेत उल्लेख गरेको छ । केन्द्रीय बैंककाअनुसार केही संस्थाहरूले जोखिम व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन सञ्चालक समितिमा प्रस्तुत गरेका छैनन् ।
त्यस्तै, नयाँ उत्पादन र प्रणालीको अन्तर्निहित जोखिमको समुचित मूल्याङ्कन समेत नगरिएको पाइएको बताउँदै राष्ट्र बैंकले एउटा संस्थामा जोखिम व्यवस्थापन विभागले ऋण फाइल अगाडि बढाउने र ऋण वितरणमा संलग्न देखिएको छ, जसले पहिलो र दोस्रो सुरक्षा तहबीचको स्पष्ट विभाजन नहुँदा प्रणालीमा कमजोरी देखिएको उल्लेख गरेको छ ।
राष्ट्र बैंकको रिपोर्टअनुसार केही संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको छ । त्यसले गर्दा आन्तरिक लेखा परीक्षण कार्य प्रभावित बन्न पुगेको छ । त्यस्तै, अधिकांश संस्थाहरूको लेखा परीक्षण समितिले संस्थाको आर्थिक अवस्था, आन्तरिक नियन्त्रण, बाह्य लेखा परीक्षण र राष्ट्र बैंकको निर्देशनहरूमा पर्याप्त छलफल नगर्ने गरेको समेत राष्ट्र बैंकले पाएको छ। कतिपय वित्तीय संस्थाहरुमा भने आन्तरिक लेखा परीक्षण विभागमा पर्याप्त जनशक्ति नभएको र ढिलो गरी आन्तरिक लेखा परीक्षक नियुक्त गर्ने गरेको समेत पाइएको छ ।






About Us
प्रतिक्रिया