काठमाडौं – सरकारले बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा सूचना केन्द्र कार्यान्वयनलाई प्राथमिकता दिइएको हो । बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन सूचना केन्द्र स्थापना गर्ने नीति सरकार र प्राधिकरणले लिएको छ।
बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना गरिने उल्लेख छ । जस, अनुसार प्राधिकरणले यसका लािग विभिन्न तयारी पनि थालेको छ । प्राधिकरणले बीमा क्षेत्रमा भएका जालसाजी, किर्ते वा ठगी लगायतको सूचना सङ्कलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि सूचना केन्द्र स्थापना गर्न लागेको हो । यस केन्द्रलाई प्राधिकरणले नै नियमन गर्ने व्यवस्था रहेको छ ।
यसका लागि सरकारसँग समन्वय गरी यस कामको तयारी पनि अघि बढिरहेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले बताएका छन् । उनले बीमा सम्बन्धी सूचनाको संकलन तथा भण्डारण गर्न बीमा सूचना केन्द्र स्थापनाको कार्य अघि बढिरहेको जानकारी दिएका छन् । ‘यसबाट बीमालेख निर्माण, बीमा सम्बन्धी अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने तथा बीमा ठगी, जालसाजी, किर्ते लगायत बीमा कसुरको अनुसन्धान, तथा नियन्त्रण गर्न सहयोग पुग्नेछ,’ उनले भने ।
बीमित हित संरक्षण कोष स्थापना गर्ने कार्यलाई अघि बढाइ सो कोषमा जम्मा भएको रकमबाट बीमकको सम्पत्तिबाट बीमितलाई दायित्व भुक्तानी गर्न नसक्ने भएमा वा देशको कुनै भू–भाग वा क्षेत्रमा महाविपत्ति लगायतका अन्य सङ्कट आइपरेको अवस्थामा बीमित हित सम्बन्धी कार्य अघि बढाउन सहज हुने उनले बताए । उनले भने । यस्तै, त्यस्तै बीमाको पहुँच आर्थिक रूपले विपन्न वर्गका नागरिकसम्म पुर्याउन र बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नको लागि ऐनले परिकल्पना गरेको बीमा विकास कोष स्थापना सञ्चालनको कार्य अघि बढाइएको हो ।
स्थापनापछि कसलाई के फाइदा ?
बीमा सूचना केन्द्र स्थापना भएपछि प्राधिकरण, कम्पनी, सर्भेयर, अभिकर्ता, बीमित आदि सबै सरोकारवाला पक्षहरूलाई फाइदा पुग्छ । सबै तथ्य र तथ्यांक सूचना केन्द्रमा पाइन्छ । बीमा क्षेत्रमा भएका जति पनि सूचना हुन्छन्, ती सबै सबै सूचना केन्द्रमा अपडेट हुने हुँदा यसको फाइदा सबैलाई हुने छ । बीमा कम्पनीहरूले गल्ती गरेको, ठगी गरेको, दाबी भुक्तानी नदिएको, समयमा दाबी भुक्तानी नगरेको लगायत सूचनाको रेकर्ड केन्द्रमा हुने र सो सूचना बीमितले केन्द्रको वेबसाइटबाट नै प्राप्त गर्न सकिने छ ।
बीमा ऐन, २०७९ को दफा १५५ मा बीमा सूचना केन्द्र सम्बन्धी व्यवस्था गरिएको छ । प्राधिकरणले बीमा क्षेत्रको सूचना सङ्कलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने उल्लेख छ । सोही अनुरूप प्राधिकरणले यसको अभ्यासको लागि सरकार सँग कार्यक्रम पनि बुझाएको छ । केन्द्र बनेपछि सुशासन कायम हुने, कम्पनीहरू व्यवस्थित हुने र जालसाजी कम हुने जस्ता कुराहरूले गर्दा प्राधिकरणको फाइदा रहेको देखिन्छ । यो व्यवस्थाले समग्र बीमा क्षेत्रलाई नै फाइदा पुग्ने देखिएको छ ।





About Us
प्रतिक्रिया