योजना आयोग सम्हालिसकेर १८औं गभर्नर बनेका डा. विश्वनाथ पौडेल को हुन् ?


काठमाडौं – डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका नजिकका पात्र हुन् । देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा समेत नियुक्त भएका डा. पौडेल यतिबेला १८औं गभर्नरको दौडमा थिए ।

गभर्नर बन्ने प्रतिबद्धता पाएपछि पौडेलले गभर्नर सिफारिस समितिबाट समेत राजीनामा दिएका थिए । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । अमेरिकाकै विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि समेत गरेका छन् । उनले सन् २०१० मा युसी बर्कलीबाट आफ्नो विद्यावारिधि पूरा गरेका हुन् । उनी अर्थशास्त्र र इतिहासमा विशेष दख्खल राख्छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनमा अर्थशास्त्रीको रूपमा पनि अनुभव संगालेका छन् । यसबाहेक, पौडेलसँग काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापकको रूपमा पनि काम गरेको अनुभव छ भने अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारकारुपमा कार्यानुभव समेत छ ।

कोलम्बो योजना परिषद्का अध्यक्ष तथा एशिया र प्रशान्त क्षेत्रको क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरणका अध्यक्षका रूपमा पनि काम गरिसकेका पौडेल कुनै समय नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारमा समेत थिए । नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा जाने चर्चामा रहेका उनले सानिमा बैंक र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको सञ्चालक समितिका सदस्यकारुपमा समेत काम गरिसकेका छन् ।

उनले २०१२ देखि २०१३ सम्म सानिमा बैंकको सञ्चालकको रूपमा काम गरेका हुन् । उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भएको पाइन्छ । उनले लेखेका लेखहरु अमेरिकी कृषि अर्थशास्त्र जर्नल, कृषि तथा अनुप्रयुक्त अर्थशास्त्र जर्नल, अनुप्रयुक्त आर्थिक दृष्टिकोण तथा नीति, प्राकृतिक स्रोत नमुना र अनुप्रयुक्त आर्थिक पत्रजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

यस्तै, युलेन्स स्कुलको ‘ट्रस्टी’ समेत रहेका डा. पौडेल नेपाली कांग्रेसको टिकट लिएर चितवनबाट चुनाव समेत लडेका थिए । उनै पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति देउवाबीच सहमति भएको चर्चा छ ।

गभर्नर सिफारिस समितिमा सदस्यको भूमिकामा रहेका डा. पौडेलले गभर्नर बन्ने भएपछि सो पदबाट राजीनामा समेत दिइसकेका छन् । ‘यो त सरकारले चाहने कुरा हो । सरकारले चाहेको खण्डमा गभर्नर बन्नै पर्यो,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘यसअघि योजना आयोगमा उपाध्यक्षको भूमिकामा समेत रहिसकेको छु ।’