राष्ट्र बैंक भन्छ, शंकास्पद कारोबार एक वर्षमा ४९ प्रतिशतले बढ्यो


काठमाडौं – नेपाल राष्ट्र बैंक शंकास्पद कारोबार बढेको बताएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार शंकास्पद कारोबार करिब ४९ प्रतिशतले बढेको छ ।

सन् २०२३ मा शंकास्पद कारोबार गर्नेको संख्या ६ हजार २५५ रहेकोमा २०२४ मा करिब ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३०४ पुगेको हो । राष्ट्र बैंकले कर छली सम्बन्धी, मौद्रिक, बैंकिङ्ग, विदेशी विनिमय, बीमा र सहकारी सम्बन्धी, ठगी सम्बन्धी, चिठ्ठा, जुवा र सट्टेबाजी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित कारोबारमा शंकास्पद गतिविधि रहेको पाइएको बताएको छ ।

गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा जम्मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरिएको जनाइएको छ । सोमध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।

सन् २०२२–२३ मा एसिया र प्रशान्त क्षेत्रीय समूहद्वारा गरिएको नेपालको म्युचुअल इभ्यालुएसन पछि केही एमएल र सीएफटी कमजोरीहरूका कारण नेपाललाई एफएटीएफको अन्तर्राष्ट्रिय सहयोग समीक्षा समूहको निगरानीमा राखिएको थियो । जसमा सरकारले उल्लेखनीय सुधारहरू गरेको बताइएको छ । त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको बताएको छ ।