काठमाडौं – काठमाडौंको तारकेश्वरमा विभिन्न वाणिज्य बैंकहरुको किर्ते कागजात बनाउने तीन जना व्यक्तिहरू पक्राउ परेका छन् । तारकेश्वर नगरपालिकाको फुटुङ्स्थित एक घरमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह र बैंक तथा वित्तीय संस्थाको किर्ते चेकबुक तथा स्टेटमेन्ट बनाउने गिरोह पक्राउ परेको हो ।
पक्राउ पर्नेमा गोरखाकाे भिमसेन थापाका अन्जनी बयलकोटी, ओखलढुङ्गाको चम्मादेवीका निर्मल खड्का र मकवानपुरको कैलाशका अन्जु खत्री रहेका छन् । पक्राउ पर्ने बयलकोटीले विगत ८ वर्षदेखि किर्ते गरी कागजात बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । पहिले अर्काकाे कारखानामा यस्तो नै गरी किर्ते कागजात बनाउने गरेको र पछि उनले आफ्नो नै कारखाना खोली सञ्चालन गरेको अनुसन्धानको क्रममा जनाकारी पाइएको प्रहरीले बताएको हो ।
उनले सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तह सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते नक्कली बनाई प्रयोगमा ल्याउने गरेको प्रहरीले जनाएको छ । उनीहरूले ‘डिपेन्डेन’ भिसामा विदेश जानेहरुको विवाह दर्ताको प्रमाणपत्र समेत बनाउने गरेको प्रहरीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने प्रयोजनका लागि जग्गाधनी पुर्जा बनाई दिने र जापानमा विद्यार्थी भिसामा जानेहरूका लागि सहकारी संस्थाको स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न शैक्षिक संस्था तथा सहकारी कार्यालयका होलेग्रामहरु आवश्यकता अनुसार उपलब्ध गराउने, जापान लगायतका देशहरूमा वाकिङ भिसामा जानेहरूका विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र तथा अनुभव पत्र बनाई दिने जस्ता गैर कानुनी कार्यहरू गरेको प्रहरीले बताएको छ ।
विदेशीमा बस्ने नेपाली नागरिकहरूले विदेशको पीआर र ग्रिन कार्डको फर्म भर्नका लागि नेपालको मनमोह मेमोरीयल अस्पताल, सल्यान जिल्ला अदालत खंलगा र नेशनल एडेमिक अफ मेडिकल साइस वीर हस्पिटलको मेडिकल कार्ड बनाइदिने गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार भिजिट भिसाका लागि ‘क’ वर्गका कुनै पनि बैंकको जस्ताको त्यस्तै स्टेटमेन्ट बनाइदिने गरेका थिए । नेपालको ‘क’ वर्गका बैंकहरु प्रभु बैंक, नबिल बैंक, एनआईसी एसीया बैंक, राष्ट्रिय वाणिञ्य बैंक जस्ता सम्पूर्ण बैंकहरुको डेभिट र क्रेडिट स्टेटमेन्ट बनाइदिने गरेको उनले बताए ।
वास्तविक बैंक र उनीहरूले बनाइदिने किर्ते स्टेटमेन्टहरुमा केही फरक नै नपाइएको उनी बताउँछन् । उनीहरुको साथबाट बैंक तथा वित्तीय संस्थाहरुको चेक बुक, स्टेटमेन्ट र विद्यार्थी भिसामा विदेश जानेहरुको लागि बैंकले दिने यो व्यक्तिको खाताका यस्तो कारोबार हुन्छ भन्ने डकुमेन्ट समेत बरामद गरेको उनले बताए। प्रहरीलाई प्राप्त सुचनाका आधारमा उक्त स्थानमा किर्ते गरी कागजात बनाइदिने गरेको चार दिन अघि मात्र थाहा पाइएको उनले बताए । उक्त कारखाना सञ्चालन गर्ने सञ्चालकहरुले फुटुङ्का एउटा कोटा भाडामा लिएर नक्कली कागजात इडिट र डिजाएन गर्नेका लागि दुई जनालाई मासिक १० हजार देखि १५ हजार तलब दिर्ने गरेको पाइएको उनी बताउँछन् । उनीहरूले एकै ठाउँमा यो कारखाना सञ्चालन नगरी समय समयमा स्थान परिर्वतन गर्दै आएको उनले बताए ।
उनीहरुलाई पक्राउ गर्ने क्रममा बसाई सराईको प्रमाणपत्र ४२ थान, चरित्र प्रमाणपत्र ६० थान, शैक्षिक संस्थाको ट्रान्सक्रिप्ट ११० थान, विवाह दर्ता प्रमाणपत्र ५ थान बरामद गरेको छ । यस्तै, अस्थायी प्रमाणपत्र ५० थान, जग्गाधनी दर्ता प्रमाण पुर्जा १० थान, विभिन्न सहकारी संस्थाहरुका लेटर प्याडहरु १७ थान, वार्षिक आर्यको प्रमाणीकरण ७ थान समेत बरामद भएको छ ।
ल्यामिनेशन मेसिन १ थान, ताप मेसिन १ थान, डाई कटर मेसिन १ थान, विभिन्न सहकारी संस्थाहरूको स्टेटमेन्ट १७ पाना, विभिन्न स्वास्थ्य संस्थाको सिफारिस पत्र २ पाना बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, विभिन्न बैंकहरुको स्टेटमेन्ट १०० पाना, कलरको बट्टाहरू १७ थान, स्थानीय स्तरले प्रदान गर्ने सिफारिस पत्रहरू २० थान, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका स्टाम ३५५ थान बरामद भएको छ । यसबाहेक, मनिटर २ थान, सीपीयू २ थान समेत बरामद भएको छ । बरामद भएका सम्पूर्ण सामान अदालतमा पेस गरी मुद्दा चलाउने प्रक्रिया सुरु गरिएको प्रवक्ता आचार्यले बताएका छन् । उनीहरूले बनाएको कागजातहरू कहाँ र कुन कुन निकायमा प्रयोग गरेको समेत खोजी गर्न थालिएको उनी बताउँछन् ।
प्रतिक्रिया