आन्तरिक अडिट प्रभावकारी बनाउँदै पर्फमेन्स अडिट गर्ने तयारीमा छौं : अध्यक्ष ओझा


काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले विगतदेखि वित्तीय अडिटको मात्रै कुरा हुँदै आएको भन्दै आगामी दिनमा ‘पर्फमेन्म’ अडिट गर्ने बताएका छन् । उनले ‘पर्फमेन्स’ अडिट प्रभावकारी बनाउन आन्तरिक अडिट गर्नुपर्ने अवस्था रहेको बताए ।

बीमा प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रको समस्या दावी भुक्तानी रहेको स्वीकार्दै दावी भुक्तानीमा नियमन गर्न नसकेको पनि स्वीकार गरे । आधुनिक प्रविधिसँग जोडिएर नियमन अघि बढाउने तयारी प्राधिकरणले गरेको उनले बताए ।

बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शिता र विश्वसनीय बनाई नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिन र मुलुकको आर्थिक विकासमा योगदान बढाउन प्राधिकरण प्रतिवद्धताका साथ क्रियशिल रहेको छ’ उनले भने । ओझाले प्राधिकरणमा थप सुधारका कार्य आवश्यक रहेको उल्लेख गरे । उनले बीमा निती र सरकारबाट जारी भएका कार्यविधिलाई लिएर आगामी दिनमा गुणस्तरीय बीमा सेवा प्रदान गर्ने उल्लेख गरे ।

उनले बीमा क्षेत्रको विकासका लागि बीमा कम्पनी पारदर्शि बनाउन आवश्यक रहेको बताए । जेखिममा आधारित सुपरिवेक्षण बीमा प्राधिकरणले अवलम्बन गरिसकेको बताउँदै उनले बीमा क्षेत्रको कानूनी अस्पष्टता हटेको पनि उल्लेख गरे । उनले छरिएर रहेका निर्देशनलाई एकिकृत गरेर निर्देशनहरु जारी गर्ने उल्लेख गरे । ‘हामीले निर्देशन जारी गर्दै छौं । सो निर्देशनले नियमन र नीति कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।’ उनले भने ।

उनले सरकारले विपन्न वर्ग पहिचान गरेमा बीमा प्राधिकरणले बीमा कोषको प्रभावकारी उपयोग गरेर जाने बताए । ‘बीमा ऐनमा बीमा सूचना केन्द्र स्थापना गर्ने कुरा गरेको छ । चालु आर्थिक वर्षको बजेटमा पनि यो कुरा उल्लेख भएकोले त्यसमा काम गर्नेगरि प्राधिकरण अगाडि बढेको छ, ओझाले भने, ‘विपन्न र पिछडिएका क्षेत्रका मानिसलाई बीमा दायरामा ल्याउन पनि बीमा विकास कोषको प्रयोग गरेर जामे योजनामा हामी छौं ।’