विराटनगर – छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको छ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा दुई करोड आठ लाख ५७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो । आव २०८०/८१ मा २१ करोड रुपैयाँ बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकामा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार रुपैयाँ थपिएको थियो । जसमा आव २०७८/७९ मा एक अर्ब १९ करोड ४२ लाख ५२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट गरिएको थियो ।
२०७८/७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९/८० मा सात करोड ११ लाख ५३ हजार रुपैयाँ बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख रुपैयाँ फछ््र्यौट गरिएको थियो । आव २०७९/८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार रुपैयाँ बाँकी रहेकामा आव २०८०/८१ मा दुई करोड आठ लाख रुपैयाँ थपिएको र २१ करोड रुपैयाँ फछ्र्यौट भई आव २०८०/८१ मा जम्मा ३१ करोड ४६ लाख २५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो । आव २०७९/८० मा सात करोड ११ लाख ५३ हजार रुपैयाँ बेरुजु रहेकामा २०८०/८१ मा दुई करोड आठ लाख रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।
जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूल नेतृत्व संहालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै दुई अर्ब रुपैयाँ बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम ३१ करोड रुपैयाँमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।






About Us
प्रतिक्रिया