‘डा.नीलम ढुंगानालाई नै गभर्नर बनाउन संसद्मा उठ्न थाल्यो आवाज’ 


काठमाडौं – देशको केन्द्रीय बैंकको गभर्नर नियुक्तिको विषयले सडकदेखि सदनसम्म तताएको छ । एक महिना बित्दासमेत आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको केन्द्रीय बैंक नेतृत्व बिहीन बन्दा चौतर्फी चासो र आलोचनाको विषय बन्न थालेको हाे ।  गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएपछि नेपाल राष्ट्र बैंक नेतृत्व बिहीन बनेको छ ।

त्यसयता पटक–पटक गभर्नर सिफारिस समिती विघटन हुँदै सदस्यहरू फेरिने क्रम जारी छ । तर, केन्द्रीय बैंकले गभर्नर पाउन सकेको छैन । यसैबीच गभर्नर नियुक्तिको विषले संसद्ममा पनि राम्रै स्थान पाएको छ । हाल कायममुकायमको जिम्मेवारीमा रहेर केन्द्रीय बैंकको बागडोर सम्हालिरहेकी नीलम ढुंगाना तिम्सिनालाई किन गभर्नर नबाउने भन्नेसम्मका प्रश्नहरू उठेका छन् ।

राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गभर्नर बनाऔँः अमरेश कुमार सिंह

बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै  स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कायममुकायम गभर्नर नीलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उनले सुझाव दिए । सांसद सिंहले दलिय भागबण्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको आरोप लगाउँदै ढुंगानालाई गभर्नर बनाउन माग गरे । उनले

गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको टिप्पणी गरे । उनले राजनीतिक दलको सदस्य गभर्नर नहुने नभएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिए । हरेक क्षेत्रमा राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिलाई लगाम लगाउनुपर्ने उनले बताए । उनले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अङ्गहरू औचित्यहीन भएर जाने उल्लेख गरे ।

यसपटक राष्ट्र बैंकको नेतृत्व महिलालाई दिऔँः सांसद कार्की

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले पनि नीलम ढुंगानालाई नै राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न सरकारसमक्ष माग गरेकी छिन् । उनले बुधबारको प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दे यसअघि पहिलो पटक राज्यका उच्च निकायमा पुगेका महिलाहरूको कार्यकाल उत्कृष्ट रहेको बताउँदै राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन आग्रह गरिन् ।

सांसद कार्कीले भनिन्,‘ विगतमा हामीहरूले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाएका थियौँ । उहाँहरूको कार्यकाल सफल र प्रशंसा योग्य थियो ।’ उनले थपिन् ’म सभामुख मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु ढुंगानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऔँ र ५२ प्रतिशत महिलाहरूलाई न्याय गरौँ। योग्य र अयोग्य मान्छेहरू खोज्न तर्फ नलागौँ।’