मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौंः उर्जामन्त्री खड्का


काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए । अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको ब्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेका थिए ।

पहिलो पटक उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बाढी प्रभावित क्षेत्रमा– तत्काल बजेट ब्यवस्थापन
२०७८ असार १ मा गएको विनाशकारी बाढी पछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो भने बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो । सरकारका प्रधानमन्त्री, खानेपानी मन्त्रीदेखि भौतिक मन्त्रीहरु पटक पटक मेलम्ची पुगेपनि कुनै काम हुन सकेको थिएन ।

तर, पहिलो पटक स्थलगत अवलोकनमा पुग्नुभएका खड्काले विजुली गतिमा काम गर्न निर्देशन दिदै तत्काल बर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिएका हुन् । सिँचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा तत्काल काम गर्न मन्त्रीले दिएको निर्देशन अनुसार केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने र कामको गति बढाउने बताए ।