काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि राति आठ बजे बस्ने गरी बोलाइएको बैठक ६ बजेका लागि सारिएको हो । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिलाई पूर्णता दिने सम्भावना रहेको छ ।
समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एक पद रिक्त छ । समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालीन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए । पौडेलसँगै गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएको दोस्रो पटक हो । २०८१ चैत १९ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा भट्टराईसहित विश्व पौडेल सम्मीलित समिति गठन भएको थियो।
यसअगाडि विजयनाथ भट्टराईले राजीनामा दिएपछि खाली भएको समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएको भन्दै भट्टराईले राजीनामा दिएका थिए । पौडेलले भने सिफारिस समिति सदस्यबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा छन् ।
अब सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । सिफारिस समितिले पूर्णता पाएसँगै योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । तर, सरकारले चैत २४ गतेभन्दा एक महिना अघि नै भेट्नुपर्ने गभर्नर अझै भेटेको छैन । राजनीतिक भागबन्डाका कारण पूर्व गभर्नरको कार्यकाल सकिएको १ महिना नाघ्दा समेत केन्द्रीय बैंकले गभर्नर पाउन सकेको छैन ।
प्रतिक्रिया