काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को चालु आर्थिक वर्षको नौ महिनामा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा सीमित भएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४.६१ प्रतिशत मुद्रास्फीतिभन्दा कम हो । चैत महिनासम्मको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहमा २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यिनै समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत थियो ।
खाद्य समूहभित्र घ्यू–तेलको मूल्य ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल–गेडागुडीको ६.५८ प्रतिशत, र गैर-मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेका छन् । तरकारीको मूल्य ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत, र मासु–माछाको ०.८९ प्रतिशतले घटेको देखिएको छ। गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ८.६९ प्रतिशतले, कपडा–जुत्ता ७.०१ प्रतिशतले, मदिराजन्य पेय ६.०७ प्रतिशतले, फर्निचर तथा घरेलु उपकरण ५.५९ प्रतिशतले, र सुर्तीजन्य वस्तु ४.८३ प्रतिशतले बढेको छ।
क्षेत्रगत रूपमा, ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.७८ प्रतिशत र शहरी क्षेत्रमा ३.२५ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा, सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.९१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा २.८० प्रतिशत देखिएको छ । भौगोलिक रूपमा काठमाडौं उपत्यकामा मुद्रास्फीति २.९५ प्रतिशत, तराईमा ३.३१ प्रतिशत, पहाडमा ३.४६ प्रतिशत, र हिमाली क्षेत्रमा ४.४७ प्रतिशत रहेको छ । थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पनि घट्दै गएको छ ।






About Us
प्रतिक्रिया