काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा विप्रेषण आप्रवाहमा (रेमिट्यान्स) १० प्रतिशतको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको जनाएको हो ।
समिक्षा अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख११ हजार २२६ रहेको थियो ।
प्रतिक्रिया