‘नेपालमा तत्कालै डेबिट र क्रेडिट कार्डको प्रयोग शून्यमा झर्दैन’

क्यूआर कोडले मास्टरकार्ड र भिसाको प्रयोगलाई विस्थापित गर्ने गरी पूर्वाधार विकास भइसकेको छैन – आशिष शर्मा

निकेश खत्री
182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २००७ देखि नेपालको ‘फिनटेक’मा काम गर्दै आइरहेको कम्पनी हो – आईमार्क डिजिटल । नेपालको पहिलो मोबाइल वालेटको स्थापनाभन्दा पनि अघि स्थापना भएर निरन्तर डिजिटल नेपाल निर्माणमा यसले काम गर्दै आइरहेको छ । आईमार्क डिजिटलले विशेषगरी नेपालमा विभिन्न अन्तर्राष्ट्रियस्तरका भुक्तानीमा प्रयोग हुने कार्डमा आधारित व्यवसाय विस्तार गर्दै आइरहेको छ । यसले नेपालमा मास्टरकार्ड, भिसा, युनियन पे लगायतका कार्डको पूर्वाधार बनाउने र बैंक तथा वित्तीय संस्थाको आवश्यकता बमोजिम उपलब्ध गराउने काम गर्दै आइरहेको छ ।

यसबाहेक, विभिन्न सपिङ मल, व्यापारिक कम्प्लेक्स र विभिन्न पसलमा राखिने पीओएस मेसिन समेत आईमार्कले नै उपलब्ध गराउँदै आएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्थाकामाध्यमबाट व्यवसायीहरूलाई ती कार्ड स्वाइप गर्ने मेसिन उपलब्ध गराउँदै आइरहेको हो । तर, पछिल्लो समय मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआरमार्फत हुने भुक्तानी कार्डमार्फत हुनेभन्दा कयौँ गुणा बढी भइसक्यो । यस आधारमा भावी दिनमा कार्डमा आधारित व्यवसाय र यसको रणनीति तथा नेपालले अँगाल्नुपर्ने नीतिगत व्यवस्थाका विषयमा केन्द्रित रहेर आईमार्क डिजिटलका ‘बैंकिङ्ग एण्ड पेमेन्ट्स’ विभागका निर्देशक आशिष शर्मासँग बैंकिङ्ग बहसमा गरिएकाे कुराकानीको सम्पादित अंशः–

आईमार्क सन् २००७ सालमा स्थापना भयो । आईमार्क डिजिटललाई नेपालको फिनटेकमा काम गर्नका लागि स्थापित पहिलो कम्पनी भन्न मिल्छ कि मिल्दैन ?

आईमार्क डिजिटल फिनटेकको भूमिकामा नभएर आईटी कम्पनीको भूमिकामा स्थापित कम्पनी हो । स्थापनाको समयमा आईमार्कको लक्ष्य बैंक तथा वित्तीय संस्थाको कार्डमार्फत हुने भुक्तानी सहजीकरण गर्ने लक्ष्य नै थियो । आईमार्क स्थापना हुनु अघिसम्म बैंक तथा वित्तीय संस्थाको कार्डबाट हुने भुक्तानी सहजीकरणका लागि विदेशी कम्पनीको मात्रै भर थियो । यस आधारमा फिनटेकमा नै काम गर्ने गरी स्थापित कम्पनीहरूमध्ये हामीलाई ‘फस्टमुभर’ भन्न मिल्छ ।

तपाईँहरू सन् २००७ देखि निरन्तर फिनटेकमा काम गर्दै आउनु भएको छ । तर, बजारमा सञ्चालित अन्य कम्पनीहरूभन्दा फरक भूमिकामा समेत हुनुहुन्छ । यसबारेमा थोरै जानकारी दिनुस् न ।

आईमार्क मुख्यगरी ‘टेकड्रिभन’ कम्पनी हो । यसको सुरुवात आईटी ट्रेडिङ कम्पनीकारुपमा भएपनि यतिबेला फिनटेक क्षेत्रको सहजकर्ता कम्पनीकारुपमा विकास गर्दै छौँ । कम्पनीसँग १५० जना हाराहारी कर्मचारी छन् भने बैंकिङ्ग भुक्तानीमा केन्द्रित छौँ। भुक्तानीका माध्यमलाई सहज बनाउन फेवापे सञ्चालनमा ल्याएका छौँ भने स्वास्थ्य क्षेत्रका लागि भने डाँफे केयर सञ्चालनमा ल्याएका छौँ । डाँफेले अस्पतालहरूलाई डिजिटल बनाउने काम गर्दै आइरहेको छ र तेस्रो सेवाकारुपमा आईमार्कले मुगुसप सञ्चालनमा ल्याएको छ । यसले मर्चेन्टलाई सेवा प्रदान गर्दै आइरहेको छ । यी तीन वटै सेवाले ‘बीटूबी’मा काम गर्छ ।

आईमार्कले विशेषगरी नेपालमा भिसा र मास्टरकार्ड प्रिन्ट गर्ने, यसबाट हुने भुक्तानी सहज बनाउने र कार्ड स्वाइप मेसिन ‘पीओएस’ भाडामा दिने काम गर्दै आइरहेका छौँ । यसको सम्पूर्ण प्रणाली समेत हामीले नै प्रदान गर्छौँ । सबै बैंकको नगरे पनि अधिकांश बैंकका ती कार्ड प्रिन्ट, प्रणाली विकास र स्वाइप मेसिन भाडामा दिने काम गरिरहेका छौँ ।

तपाईँहरूले अन्तर्राष्ट्रिय भुक्तानीकामाध्यम भिसा, मास्टरकार्ड लगायतसँग काम गर्दै आउनु भएको छ । यसबाट हुने भुक्तानीलाई सहजीकरण गर्दै आउनु भएको छ । सबै वर्गका वित्तीय संस्थाअनुसार छुट्टाछुट्टै सेवा हो वा के छ ?ब

संसारमा कुनै पनि बैंकले मास्टरकार्ड, भिसा, जेसीबी र एमेक्स कार्ड प्रयोग गर्नका लागि एउटै स्ट्याण्डर्ड छ । हामि ईएमबी र पीसीआई सर्टिफाइड हुन्छौं र विश्वव्यापी स्ट्याण्डर्ड एउटै हुन्छ । विकास बैंकहरुको आवश्यक्तालाई मध्यनजर गरेर एजेन्सी बैंकिङ्ग सेवा सञ्चालनमा छ । यस्तै आईमार्क ‘बीटूबी’ सेवामा केन्द्रीत छ र ‘कस्टमाइज्ड’ सेवा प्रदान गर्दै आइरहेका छौं ।

यसबाहेक, सेवाग्राहीले आफ्नो फोटो वा आफूले रुचाएको फोटो प्रयोग गरेर डेबिट वा क्रेडिट कार्ड झिक्न पाउने व्यवस्था गरिएको छ । प्रयोगकर्ताको इच्छाअनुसार यो व्यवस्था गरिएको हो ।

विशेषगरी तपाईँहरू कार्डमा आधारित व्यवसायमा केन्द्रित हुनुहुन्छ । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले मोबाइल बैंकिङ्ग, इन्टरनेट र मोबाइल वालेटको प्रयोगकर्ता बढ्दो र कार्डका प्रयोगकर्ता घट्दो अवस्थामा छन् । यो तथ्यांकलाई केलाउँदै कस्तो रणनीति बनाइरहनुभएको छ ?

तथ्यांकमा घटिरहेको देखिए पनि वास्तविकतामा लगत्तै कार्डका प्रयोगकर्ता शून्यमा झर्ने देखिँदैन । प्रयोगकर्ताले कार्डबाट भुक्तानी घटाइरहेका छन् । तर, यसको पूर्ण विकल्प खोज्नेतर्फ प्रयोगकर्ताको ध्यान गएको देखिँदैन । क्यूआरको प्रगति नजिकबाट केलाउँदा यसैको भरमा संसारभर भ्रमण गर्न सकिँदैन । क्यूआर आन्तरिक भुक्तानीको प्रणालीमा बढी केन्द्रित छ र अन्तर्राष्ट्रिय यात्रामा निस्कँदा क्यूआरकै भर पर्न सकिँदैन ।

तर, कार्ड बोकेर ‘क्यासलेस’ यात्रा गर्छु भन्न पनि सकिन्छ । किनकि, कार्डका लागि विश्वव्यापीरुपमा पूर्वाधार विकास भइसकेको छ र क्यूआरका लागि त्यसप्रकारको पूर्वाधार विकास भइसकेको छैन । अलिपेहरुले धेरथोर विकास गरिरहे पनि कार्डलाई नै विस्थापित गर्ने गरी बनिसकेको जस्तो लाग्दैन । विकसित मुलुकको जीवनशैली नै कार्डमा आधारित छ । यहीकारण, उच्चस्तरको प्रविधियुक्त कार्डको पूर्वाधार विस्थापित गरेर क्यूआर प्रयोग शतप्रतिशत हुने कल्पना अहिले गर्न सकिँदैन ।

यता भारतमा क्रेडिट कार्ड र डेबिट कार्डका प्रयोगकर्ता प्रतिवर्ष २० प्रतिशतले बढिरहेको तथ्यांक छ । जबकि, भारतमा क्यूआर भुक्तानीका लागि ठूलो पूर्वाधार तयार भइसकेको छ । तर, पनि प्रयोगकर्ताले पूर्ण विश्वास गर्न सकेका छैनन् ।

भारतमा जस्तो नेपालमा कार्डका प्रयोगकर्ता बढ्दो अवस्थामा त छैनन् । यस आधारमा कार्डसँग सम्बन्धित व्यवसाय गर्दै आइरहेका कम्पनीलाई समस्या पर्दैन ?

यस्तो हुँदैन भन्ने लाग्छ । पछिल्लो समय प्रयोगकर्ताको संख्या केही ओरालो लागे पनि व्यवसाय नै बन्द गर्नुपर्ने खालको विश्लेषण अहिले भइसकेको छैन । विदेशी मुलुकबाट नेपाल घुम्न आउने पर्यटकहरूले नेपालमा कार्डको विकल्प छैन । यस आधारमा पनि यो व्यवसाय शून्यमा नै जाँदैन । तर, बढ्दो अवस्थामा रहेको क्यूआरको बजारलाई हामीले केलाई पनि रहेका छौँ । चीन, भारत लगायतका मुलुकमा क्यूआरकोमाध्यमबाट ‘फ्रड’ समेत बढिरहेको छ ।

अहिलेसम्म क्यूआर गरेपछि पसलेलाई देखाउने र विश्वास गर्ने हुँदै आइरहेको छ । तर, यसलाई बढी विश्वासिलो बनाउनका लागि क्यूआरमार्फत भुक्तानीपछि ‘रियलटाइम’ आवाज आउने प्रविधि विकास भइसकेको छ । यसलाई क्यूआरमा भएको अर्को इनोभेशन भन्न सकिन्छ ।

नेपालमा अहिले मास्टर कार्ड, भिसा र युनियन पेजस्ता कति देशका कार्ड प्रयोगमा छन् ? र, यी कार्ड चलाएबापत कति पैसा विदेश जान्छ ?

नेपालमा मुख्यगरी मास्टर कार्ड, भिसा र युनियन पे चल्छन् । यसपछि एमऐक्स र जेसीबी कार्ड समेत प्रयोगमा छन् । यी कार्ड प्रयोग गरेबापत नेपालबाट ठ्याक्कै कति रकम जान्छ भन्ने तथ्यांक त छैन । यद्यपि, ठुला बैंकहरुले प्रतिवर्ष औसतमा ३ देखि ४ लाख अमेरिकी डलर विदेश पठाउँछन् । तर, यो सबै बैंकका लागि लागू हुँदैन ।

विदेशी कम्पनीको कार्ड प्रयोग गरेबापत हामीले पैसा तिर्छौँ । तर, क्यूआर प्रयोग गरेबापत विदेशमा पैसा पठाउन पर्दैन। यसमानेमा तपाईँहरूको प्राथमिकता कार्ड वा क्यूआर ?

आईमार्क कार्ड र क्यूआर भन्नुको साटो सेवा प्रदायकको भूमिकामा छ । प्रविधि उपलब्ध गराउने कम्पनी भएकाले बजारको माग अनुसार प्रदान गरिन्छ । नेपालबाट विदेशमा यात्रा गर्दा पनि कार्ड नै बोक्नुपर्छ । क्यूआर प्रयोग गरेबापत रकम बिदेसिँदैन भनेर कार्ड नै रोकेर हुँदैन । किनकि, कार्डको अन्तर्राष्ट्रियरुपमा पूर्वाधार बनेका कारणले पनि तत्कालै प्रयोग रोक्न सक्ने स्थिति रहँदैन।