सरकारलाई गभर्नर नियुक्तिका लागि रुलिङ गर्न सभामुख समक्ष रास्वपा सांसद ढकालको माग


काठमाडौं – प्रतिनिधिसभा सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभामुखलाई गभर्नर नियुक्तिकाकाे लागि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । शुकबारको प्रतिनिधि सभा बैठकको शून्य समयलाई सम्बोधन गर्दे ढकालले महिना दिन बितिसक्दा पनि सरकारले गभर्नर नियुक्ति गर्न नसकेको भन्दै गभर्नर नियुक्तिको लागि सरकारलाई रुलिङ गर्न सभामुख समक्ष माग गरेका हुन्।

ढकालले भने ,‘महिनौँ दिन बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। मौद्रिक नीतिको कार्यान्वयन गर्ने निकाय, त्रैमासिक रूपमा मौद्रिक नीतिको समीक्षा गर्ने निकाय, वित्त बजार र मुद्रा बजारलाई नियमन गर्ने सर्वोच्च निकाय, त्यो निकायमाथि भद्रा राजनीतिक लालछना देखाइएको छ । दलीय भागबन्डाको विषय छताछुल्ल बनाइएको छ।’ 

ढकालले वर्तमान अवस्थाको जटिल अर्थतन्त्रलाई  चलायमान बनाउन राष्ट्र बैंकको नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने भन्दै तत्काल गभर्नर नियुक्ति गर्न माग गरे । उनले भने, ‘ग्रे लिस्टमा फसेको देशलाई बाहिर निकाल्न पनि राष्ट्र बैंकको नेतृत्वकाे एक-एक दिनको भूमिका महत्त्वपूर्ण छ । यस्तो जटिल परिस्थितिमा पनि दलीय भागबन्डाको कारण गभर्नर नियुक्ति भएको छैन। सभामुखद्वारा सरकारलाई गभर्नर नियुक्तिको लागि रुलिङ होस्’