४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ


काठमाडौं – नेपाल प्रहरीले ४० लाख ३२ हजार हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले  काठमाडौँ महानगरपालिका– २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा उक्त नगदसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका– २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका– १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । 

उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।