काठमाडौं – प्रतिनिधिसभा सदस्य चन्दा कार्की भण्डारीले नेपाल राष्ट्र बैंकजस्तो महत्त्वपूर्ण र संवेदनशील संस्थालाई पनि राजनीतिक सौदाबाजीको थलो बनाइको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारूढ दलहरू गभर्नर कसको भागमा पर्छ भनेर रस्साकस्सीमा लागेको बताउँदै त्यसको प्रत्यक्ष असर राष्ट्र बैंकले १ महिनादेखि गभर्नर पाउन नसकेको बताइन् । उनले भनिन्, ‘गठबन्धनको भागबन्डाले मुलुकको अर्थतन्त्रलाई जोखिममा पारेको छ । अहिलेको अवस्था दिशाविहीन सरकार, निर्णयविहीन नेतृत्व र गभर्नरविहीन राष्ट्र बैंकले हामीलाई कता लैजाँदैछ भन्ने गम्भीर प्रश्न उठाउँछ ।’
कार्कीका अनुसार गभर्नरको जिम्मेवारी केवल मौद्रिक नीति बनाउने मात्र नभई देशको सम्पूर्ण वित्तीय अनुशासन र स्थायित्व कायम राख्नु भएकाले एक दिन पनि खाली हुन नहुने बताइन् । उनले गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म समेत सरकारले नयाँ नियुक्ति नगरेर मौन बसेको उल्लेख गरिन्। ‘यो केवल एक पद खाली भएको विषय होइन, यो देशको अर्थतन्त्र नेतृत्वविहीन भएको गम्भीर संकेत हो,’उनले भनिन्।
सांसद कार्कीले आर्थिक संकटको यो संवेदनशील घडीमा गभर्नरको नियुक्ति तत्काल योग्यताका आधारमा हुनुपर्ने माग गरिन्। ‘राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रतिस्पर्धा र मेरिट प्रणालीमा आधारित हुनु पर्छ, त्यसका लागि कानुनी संरचना बनाउन ढिलो गर्नुहुँदैन,’ उनले जोड दिइन् ।
उनले चेतावनी दिँदै भनिन् , ‘राजनीतिक अहंकारका कारण राष्ट्र बैंक कमजोर बन्दै जाँदा देश आर्थिक दुर्घटनामा परेमा यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’ हालको अवस्थामा बैंकहरूमा खराब कर्जाको अनुपात निर्देशकीय सीमाभन्दा माथि पुगेको, फाइनान्सियल एक्सन टास्क फोर्स नेपाल (एफएटीएफको) ग्रे लिस्टमा परेको, र बजेट तथा मौद्रिक नीति ल्याउने संवेदनशील समयमा सरकार चुप लागेर बसेको बताउँदै उनले आपत्ति जनाइन्।



About Us
प्रतिक्रिया