बैंकहरूको संख्या घट्दा वित्तीय पहुँच बढ्दो, एक वर्षमा वाणिज्य बैंकको कुल निक्षेप कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालमा वाणिज्य बैंकहरूको संख्या घटेको भएतापनि वित्तीय पहुँच र व्यवसायिक विस्तारमा महत्वपूर्ण सुधार देखिएको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकको गाभ्ने र प्राप्त गर्ने नीतिका कारण पछिल्ला केही वर्षमा वाणिज्य बैंकहरूको संख्यामा कमी आएको हो ।

राष्ट्र बैंकको गाभ्ने र प्राप्त गर्ने नीति कार्यान्वयन पश्चात् वाणिज्य बैंकहरूको संख्या उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल वाणिज्य बैंकहरूको संख्या २० पुगेको छ । यस्तै, २०८१ साउनसम्म वाणिज्य बैंकहरूले स्थायी र करार गरी कुल ४५ हजार ३५४ जना कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएका छन् । जसमध्ये निजी बैंकहरूले ७९.१५ प्रतिशत कर्मचारीलाई रोजगारी दिएका छन् भने सरकारी बैंकहरूले बाँकी २०.८५ प्रतिशतलाई रोजगारी दिएका छन् ।

राष्ट्र बैंकले न्यूनतम पूँजी आवश्यकताको वृद्धि, शाखा विस्तार, तथा कर्जा र निक्षेपको समग्र परिमाणमा उल्लेखनीय वृद्धि भई वित्तीय पहुँचमा सकारात्मक प्रगति देखिएको बताएको हो । राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागको वार्षिक रिपोर्टअनुसार आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८६ अर्ब रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा बढेर ५७ खर्ब ५६ अर्ब पुगेको छ ।

वाणिज्य बैंकको शाखा कति ?

वाणिज्य बैंकहरूको कुल शाखा संख्या २०८० साउनमा ५ हजार ४९ रहेकोमा २०८१ साउनमा बढेर ५ हजार ५६ पुगेको छ । राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न प्रोत्साहित गर्ने नीतिहरू लागू गर्दै आएको उल्लेख गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ साउनसम्म सबैभन्दा धेरै शाखा हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको ४७९ शाखाहरू छन् । दोस्रोमा शाखा धेरै हुनेमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंककाे ४२४ शाखाहरू सञ्चालनमा छन् ।

सरकारी बैंकहरूमध्ये धेरै शाखा हुनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकको ३५४ शाखा सञ्चालनमा रहेका छन् । यस्तै, नेपाल बैंककाे २९० वटा र कृषि विकास बैंकको २८७ शाखाहरू सञ्चालनमा रहेका छन् । राष्ट्र बैंककाअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १ हजार ८३९ शाखाहरू सञ्चालनमा रहेका छन् । त्यस्तै, कोशी प्रदेशमा ७५४ र लुम्बिनी प्रदेशमा ७४१ शाखाहरू रहेका छन् । सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा रहेको छ । सो प्रदेशमा २१३ वटा शाखा सञ्चालनमा रहेका छन् ।