काठमाडौं – नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सका प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैर बैंकिङ्ग सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको जनाएका छन् ।
कम्पनीको यही वैशाख २२ गते सम्पन्न भएको विशेष साधारण सभालाई सम्बोधन गर्दै बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैर बैंकिङ्ग सम्पत्ति तीव्र गतिमा वृद्धि भएकाले न्यूनीकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक नीति र हालै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइसकेको जानकारी गराएका छन् ।
सम्पत्ति व्यवस्थापनको मुख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पुँजी वृद्धि गर्नु पर्ने तथा बैक वित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता रहेको सभालाई अवगत गराए । तत्पश्चात् सभाले नेक्सजेनको अधिकृत पुँजी एक अर्ब, तत्काल जारी पुँजी ५० करोड र कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने गरी प्रवन्धपत्र नियमावली संशोधन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरियो।
नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्क्रिय कर्जा नियमित गर्न, पुन: सञ्चालन गर्न तथा विक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकरहरू समेतको लगानीमा खुलेको संस्था हो ।
सभाको अन्त्यमा अध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्क्रिय कर्जा व्यवस्थापन गरी बैंक, वित्तीय संस्थालाई सहज पारेको छ । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी सञ्चालनको समय आइसकेको र यसमा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भूमिका खेल्नुपर्ने बताए । विशेष साधारण सभा यही वैशाख २२ गते कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाडौं मैतीदेवीमा सभा सञ्चालन भएको थियो ।





About Us
प्रतिक्रिया