काठमाडौं -नेपाली विद्यार्थीको तीव्र विदेश पलायनलाई रोक्न प्रभावकारी शैक्षिक नीति निर्माण गर्दै शिक्षाको गुणस्तरमा आमूल सुधार गर्नुपर्ने आवश्यकता विज्ञ, शिक्षाविद् र सरोकारवालाहरूले औंल्याएका छन्। नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले सोमबार आयोजना गरेको ‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीतिः संवाद र सम्भावना’ विषयक विमर्श कार्यक्रममा वक्ताहरूले उच्च शिक्षाका लागि वैदेशिक आश्रितताले मुलुकलाई दीर्घकालीन असर पार्ने उल्लेख गरेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसकिएसम्म समृद्ध नेपालको परिकल्पना अपूरो हुने बताए। उनले शैक्षिक पूर्वाधार निर्माणका लागि वनको प्रयोग गर्नुपर्ने सुझाव पनि दिए।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले प्रभावकारी उच्च शिक्षा नीति अभावका कारण नेपाली विद्यार्थीहरू सजिलै विदेशी शिक्षाको आकर्षणमा परेको बताए। अष्ट्रेलिया र जापान प्रमुख गन्तव्य बनेको उल्लेख गर्दै उनले जापानका खाली घरहरू भर्ने प्रयासस्वरूप नेपाली विद्यार्थी तानिएको उल्लेख गरे।
पूर्व उपकुलपति अङ्गराज जोशीले ‘शिक्षा पहुँच योग्य र उपयोगी’ बनाउने नीति ल्याएर इन्टरनेट पहुँचमार्फत शिक्षा प्रवाह गर्नुपर्नेमा जोड दिए। वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै सिङ्गापुरले शिक्षा सुधारकै माध्यमबाट आर्थिक रूपान्तरण सम्भव बनाएको उदाहरण प्रस्तुत गरे।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति सिलु बज्राचार्यले अनुसन्धानमुखी शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए भने शिक्षाविद् विद्यानाथ कोइरालाले एनआरएनएमार्फत ज्ञान, सीप, पूँजी भित्र्याउने नीतिगत वातावरण बनाइनुपर्ने बताए। विभाग संयोजक नैनसिंह महराले शैक्षिक अस्तव्यस्तताको कारण पहिचान गरी सुधारको खाका तयार गर्नुपर्नेमा जोड दिएका छन्।






About Us
प्रतिक्रिया