विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् ।ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो घोषणा आएको छ जसमा ट्रम्पले विश्वभरिका देशहरूमा व्यापक कर लगाएका छन् ।

‘म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु’, उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखे, ‘हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौँ’वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने, ‘हामी यसमा काम गरिरहेका छौँ ।’ कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन ।

धेरै सामानमा एक सय ४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारू व्यापार नीतिहरूको भार लिएको चीनले गत महिना आफूले आयात गरेको अमेरिकी चलचित्रको सङ्ख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो ।

‘अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्”, उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेखेका छन्, “हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।’चलचित्र उद्योगका लागि प्रभावहरू–वा वास्तवमा करहरू कसरी लागु गरिनेछ– भन्ने तत्काल स्पष्ट थिएन ।पर्दाका लागि बढ्दो लोकप्रिय र लाभदायक उत्पादन क्षेत्र टेलिभिजन शृङ्खला प्रभावित हुनेछ कि भन्नेबारे ट्रम्पको पोस्टमा कुनै उल्लेख गरिएको थिएन ।