यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमडौं ।
सन् २०२३ मा विश्वअर्थतन्त्रमा निकै ठूलो चुनौती देखा पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौँ मानिस प्रभावित हुने बताएकी हुन् ।
विश्वका तीन प्रमुख अर्थतन्त्र– संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीन एकसाथ सुस्त गतिमा चलेका हुनाले त्यस्तो परिस्थिति आउने उनको भनाइ छ ।

अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा उनले सन् २०२२ को तुलनामा नयाँ वर्ष थप कठिन हुने भनाइ राखेकी थिइन् । ‘विश्व अर्थतन्त्रको एक तिहाइमा आर्थिक मन्दी छाउने हामीले अनुमान गरेका छौं,’ जोर्जिभाले भनेकी छन्, ‘आर्थिक मन्दी नभएका देशहरूका लाखौं मानिसले पनि मन्दीकै जस्तो अवस्था महसुस गर्नेछन् ।’

संयुक्त राज्य अमेरिकाले मन्दी पन्छाउन सके पनि युरोपमा गम्भीर स्थिति देखापर्ने उनको भनाइ छ । युक्रेनी युद्धले थिलथिलो पारेकाले युरोपेली संघको आधा हिस्सामा गम्भीर आर्थिक समस्या देखापर्ने उनले बताएकी छन् ।

शून्य कोभिड नीतिका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले सन् २०२२ मा बाँकी विश्वसँग रफ्तार मिलाउन सकेको थिएन । यसले गर्दा आपूर्ति श्रृंखला र व्यापार तथा लगानी प्रवाहमा अवरोध सिर्जना भएको थियो । ‘चालीस वर्षमा पहिलो पटक सन् २०२२ मा चीनको आर्थिक विकास विश्व आर्थिक विकासभन्दा कम वा उही स्तरमा हुने देखिएको छ,’ जोर्जिभाले भनेकी छन्, ‘कोभिडअघि चीनले विश्व आर्थिक विकासको ३४, ३५ वा ४० प्रतिशत प्रवाह गर्थ्यो । अहिले त्यो सकिरहेको छैन ।’ समग्र एसियाली अर्थतन्त्रका लागि यो ‘तनावपूर्ण’ अवधि रहेको उनको भनाइ छ ।

आईएमएफले यो वर्ष विश्व आर्थिक विकासको दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा आर्थिक विकास दर ३.२ प्रतिशत थियो । युक्रेन युद्ध, मुद्रास्फितिको दबाब र प्रमुख केन्द्रीय बै‌ंकहरूले बढाएको ब्याजदर लगायतलाई मध्यनजर गर्दै आईएमएफले सन् २०२३ को आर्थिक विकासको दर प्रक्षेपण गरेको थियो ।