कर्जा प्रवाहमा प्रभु बैंकको लापरबाहीको नतिजा: १५९ प्रतिशत पुग्यो ‘लोन लस प्रोभिजन’

कहाँ गयो २०८०/८१ को ४ अर्ब ४८ करोड नाफा ?


काठमाडौं – शक्ति र सत्ताको आडमा न्यून धितोका आधारमा जथाभाबी ऋण प्रवाह गर्दा प्रभु बैंकको प्रोभिजन ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको ‘टोटल लोन लस प्रोभिजन टू एनपीएल’ ह्वात्तै बढेको हो ।

चालू वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अवधिमा प्रभु बैंकको कूल खराब कर्जाको अनुपातमा कूल प्रोभिजन १५९ प्रतिशत पुगेको हो । जबकि, गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको यो प्रोभिजन १२७.८८ प्रतिशत थियो ।

यस्तै, सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रभु बैंकको निष्क्रिय कर्जा (एनपीएल) ५.०९ प्रतिशत छ । यो गत वर्षको यही अवधिमा ४.८१ प्रतिशत थियो । यी तथ्यांकहरुले प्रभु बैंकबाट प्रवाह हुने कर्जा निम्नस्तरको धितो, शक्ति र सत्ताको आडमा प्रवाह हुने गरेको देखिएको छ ।

३ अर्ब ९७ करोड प्रोभिजनमा

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, वार्षिक प्रतिवेदनसम्म आइपुग्दा यो घटेर ५१ करोड रुपैयाँमा आइपुग्यो । खासगरी, बैंकबाट प्रवाहित कर्जाको गुणस्तर र राखिएको धितोमा नेपाल राष्ट्र बैंकले संका गरेर प्रोभिजनमा राख्न भनेपछि यस्तो भएको हो ।

एक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेर ३ अर्ब ९७ करोड रुपैयाँ प्रोभिजनमा राख्नुले बैंकको वित्तीय सूचकहरू खराब छन् भन्ने देखाउँछ । कम्पनीले विगत दुई वर्षदेखि आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन । बैंकले विभिन्न व्यक्तिहरूलाई शक्ति र प्रभावका आधारमा ऋण प्रवाह गर्दा कमाएको नाफा प्रोभिजनमा राख्दा लाभांश दिन नसकेको हो ।