काठमाडौं – १८औँ गभर्नर सिफारिसका लागि बनेको ३ सदस्यीय समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी आएका छन् । सरकारको बुधवार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार चैत २४ गतेदेखि कार्यकाल सकिएर घर फर्किएका महाप्रसाद अधिकारी नै भावी गभर्नरको खोजीमा निस्किएका हुन् ।
यससँगै, भावी गभर्नरको खोजीमा निवर्तमान गभर्नर समेत सामेल बनेका हुन् । सत्ताधारी राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबिच गभर्नर नियुक्तिको विषयमा वारपार हुने गरी कुरा मिलेको छैन । यही कारण, चैत २४ गते अघि नै गभर्नर नियुक्त भइसकेर सो दिनदेखि कार्यभार सम्हाल्नुपर्नेमा अहिलेसम्म गभर्नरको पत्तो छैन ।
खास गरी, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिच कसलाई गभर्नर बनाउने विषयमा कुरा मिलिसकेको छैन । देउवा कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने दाउमा छन् । तर, जुनसुकै हालतमा आफू निकटलाई गभर्नर बनाउने अडान ओलीको छ ।
खास गरी, प्रधानमन्त्री र अर्थमन्त्री पनि आफ्नै दलको भएकाले एमालेको भागमा नै गभर्नर पर्नुपर्नेमा ओली स्पष्ट छन् । यसबाहेक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) जस्ता निकाय समेत काँग्रेसलाई दिइसकेकाले गभर्नर आफैँ राख्ने ओलीको दाउ छ ।
यसबाहेक, प्रथम महिला राष्ट्रपति, प्रथम महिला न्यायधीस, प्रथम महिला मुख्यसचिव र प्रथम महिला सभामुख समेत आफै प्रधानमन्त्री हुँदा बनाएका ओलीले महिला गभर्नर समेत आफैँ बनाउने मौका छोपिरहेका छन् । यसभन्दा अघि ओलीले नै डा. नीलम ढुङ्गानालाई पहिलो महिला डेपुटी गभर्नर बनाएका थिए ।
यही कारण, ओली ढुङ्गानालाई नै गभर्नर बनाउने मौका खोजिरहेका छन् । यही कारण, देउवासँग भएको यसअघिको सहमति कार्यान्वयनमा ओलीले आलटाल गरेका थिए । सरकारले चैत १९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्य गभर्नर सिफारिस समिति गठन गरेको थियो ।
जसमा एमालेका पौडेल र काङ्ग्रेसबाट विश्व पौडेल थिए । यसबाहेक, विजयनाथ भट्टराई समेत समिति सदस्य थिए । अन्य दुई जना सदस्य स्पष्टरुपमा दलका प्रतिनिधि भएपनि भट्टराईलाई दलसँग चासो नै रहेन । यही कारण, भट्टराईले समितिमा किचलो भएको भन्दै राजीनामा दिएका थिए ।
भट्टराईको राजीनामापछि ओलीले आफ्ना विश्वास पात्रलाई समितिमा भित्र्याएका छन् । अधिकारी ओलीसँगै ओलीका अर्का विश्वास पात्र डा. युवराज खतिवडाका समेत विश्वास पात्र हुन् । यतिबेला उनै खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको भूमिकामा बालुवाटारमा छन् ।
अधिकारी आएपछि अब समितिले ३ जनाको नाम मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गर्नेछ । जसमा एक जना डेपुटी गभर्नर अनिवार्य हुनेछन् । जसमा डा. ढुङ्गानाको नाम पर्ने निश्चित जस्तै छ । यसबाहेक, महाप्रसाद अधिकारी र डा. नीलम ढुङ्गानाको सम्बन्ध राम्रो नभएको बताइन्छ । यही कारण, अधिकारीले डा. ढुङ्गानालाई अप्ठ्यारोमा पार्न सक्ने अड्कल सुरु भएको छ ।
तर, माथिको निर्देशन प्राप्त भएमा अधिकारीसँग डा. ढुङ्गानालाई सहज हुने गरी निर्णय लिनुको विकल्प भने रहनेछैन । यही ३ सदस्य समितिमा एमालेको दुई तिहाइ बहुमत पुगेको हो ।






About Us
प्रतिक्रिया