वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ७० लाख ठगी गर्ने चार जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका– ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् । 

पक्राउ मध्ये सम्पूर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रुपैयाँ, सुजनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रुपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ र सरस्वतीले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पूर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका–३१ बाट बुधवार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका–१२ बाट बुधवार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।