‘गभर्नर नियुक्ति प्रक्रियामा बिचौलियाले सौदाबाजी गर्दैछन्’

तिलक बहादुर रावल
532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंक एक गरिमामय संस्था हो । यस्तो गरिमामय संस्थाको गरिमामय पद भनेको गभर्नर पद हो । जुन पदमा बस्ने व्यक्तिले आवश्यकताअनुसार सरकारका प्रमुखहरुले गर्न लागेका काम पनि देशको अर्थतन्त्रलाई हानी गर्ने खालको र राष्ट्रको हितविपरित छ भने त्यसको विरुद्धमा खरो रुपमा उत्रिन सक्नुपर्छ । कुनैपनि मन्त्रीले करोडौँ डलर खर्च गरेर अलैँची, सुपारी, मरिच आदी देशको खपतभन्दा धेरै निर्यात गर्न र तस्करीलाई भाउ दिन त्यस्ता काम गर्दछ गर्न लाग्यो भने त्यसलाई गभर्नरले रोक्न सक्नुपर्छ ।

धेरै पढेलेखेका, ज्ञान भएका व्यक्तिहरुले गभर्नर बन्न कोसिस गरिरहनुभएको छ । गभर्नर पदमा जानका लागि इच्छा व्यक्त गर्नु स्वभाविक हो । तर, दुर्भाग्य बिचौलियाले कसलाई बोकेको छ भन्ने नै थाहा पाइँदैन । कुन शक्तिकेन्द्रले कसलाई लिएको छ, यस्ता कुरा आयो र शक्तिकेन्द्रकोपछि लाग्न थाले भने ती उम्मेद्वारहरुले आफ्नो काममा स्वतन्त्रता पाउदैनन् ।

गभर्नर भएको समयमा काममा स्वतन्त्रता गुमाउने गर्दछन् । उनीहरुलाई नेताहरुकाे मात्रै अर्डर नभएर नेताका सबैले भनेको निर्देशन अनुसार काम लगाउने गर्छन् । त्यसैले त्यस्तो ठाउँ दिनु हुँदैन । गभर्नरमा नियुक्तिको कुरालाई स्वतन्त्ररुपमा हेरिएको छैन । शक्तिकेन्द्रहरुले अन्य कुराहरुसँग पनि गाँसेर सौदाबाजीको क्रियाकलाप देखिने गरी भइरहेको छ । यस्तो गरिमामय पदमा नियुक्ति गर्दा अन्य कुराको लेनदेनसँग सौदाबाजी मिलाउन नहुने हो । यो प्रक्रिया लामो किसिमले गयो । पहिले नै टुंगो लाग्नुपर्ने कुरा हो ।

हामीले सुन्न नचाहेका चर्चा समेत चलिरहेका छन् । गभर्नर नियुक्तीमा भएको यो सौताबाजी पहिलो हो जस्तो मलाई लाग्छ । एउटा सिमामा बसेर मात्रै गभर्नर पदको लागि प्रयत्न गर्नुपर्ने हुन्छ । लेनदेन सौताबाजीसँग गासिएर गभर्नर नियुक्तिको काम हुनु ठिक छैन । केन्द्रीय बैंकले सरकारलाई सहयोग पुर्याउने हो । आफ्नो सिमाभित्र रहेर सरकारले बजेटमा उल्लेख गरेका आर्थिक नीतिहरुको कार्यान्वयनमा सहयोग पुर्याउने हो ।

आर्थिक वृद्धिदरका कुरा, शोधानान्तर स्थिती र मुद्रा स्फितीलाई ध्यानमा राख्दै सहयोग पुर्याउनुपर्ने हुन्छ । अन्य कुरामा पनि गभर्नरले सरकारलाई सहयोग गर्नुपर्ने हुँदा लामो समय गभर्नर पद यसरी खाली राख्दा देशको अर्थतन्त्रलाई पनि नकरात्मक असर परिरहेको हुन्छ ।