पाँच वाणिज्य बैंक कारबाहीमा : नेपाल बैंकका पुर्व अध्यक्षलाई ५ लाख, स्ट्यान्डर्ड चार्टर्डलाई करिब १५ करोड जरिवाना


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले जारी गरेको विभिन्न निर्देशन विपरित काम गर्ने बैंकहरुलाई कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नियम नमान्ने वाणिज्य बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो । पछिल्लो समय बैंकका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकलाई नै अटेरी गर्ने गरेको पाइएको छ । बैंकका सञ्चालकहरुले नियामक निकाय राष्ट्र बैंकले जारी गरेको नियम विपरीत काम गर्ने गरेको पाइएको हो । नेपाल राष्ट्र बैंकलाई बैंकका सीईओ, सञ्चालकहरुले अटेरी गरेको आधारको रुपमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकहरुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

तेस्रो त्रैमासमा नै ५ बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको भन्दै कारबाही गरेको हो ।

त्यस्तै, राष्ट्र बैंकले कुमारी बैंकले निष्कृय कर्जालाई वर्गीकरण नगरेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको समेत पाइएको छ । कुमारी बैंकले राष्ट्र बैंकको निर्देशन विपरित काम गरेको भन्दै बैंकमा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराएको हो ।

नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको नियमविपरित काम गरेको भन्दै नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो । लक्ष्मी सनराइज बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ ।

लक्ष्मी सनराइज बैंकमा संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ । बैंकले नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ‘ब्रिज ग्याप’ कर्जा प्रदान गरी लामो समयपश्चात ‘ब्रिज ग्याप’ कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर रहेको नपाएको बताएको हो ।

त्यसैगरी, राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकको व्यवस्थामा सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाइने बताएको छ । तर अध्ययक्ष अधिकारीले भने व्यवस्थाको उल्लंघन गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को बमोजिम नगद पाँच लाख जरिवाना गर्ने निर्णय गरेको बताएको छ ।

यस्तै, राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराएको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास २०८१ पुस मसान्तसम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै कारबाही गरेको हो ।