काठमाडौं – लक्ष्मी सनराइज बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । लक्ष्मी सनराइज बैंकले नेपाल राष्ट्र बैंकको नियमविपरित काम गरेको भन्दै नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।
लक्ष्मी सनराइज बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको हो ।
राष्ट्र बैंकले बैंकको सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरेको छ । तर लक्ष्मी सनराइज बैंकमा संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको हो ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत ‘बेलुनिङ्ग’ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक, न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुलहुने गरी कर्जाको किस्ता कायम गरेको, नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ‘ब्रिज ग्याप’ कर्जा प्रदान गरी लामो समयपश्चात ‘ब्रिज ग्याप’ कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर रहेको नपाएको बताएको हो ।
लक्ष्मी सन्राइज बैंकले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइजको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको भन्दै कारबाही गरेको हो ।






About Us
प्रतिक्रिया