काठमाडौं – नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले १० लाख भन्दा बढीको हायर पर्चेज कर्जा प्रवाह गर्नु परेमा अनिवार्य रुपमा कर्जा सुचना लिनु पर्ने व्यवस्था गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गर्दै राष्ट्र बैंकले धितो मुल्यांकनको सीमा घटाएकाे हो ।
त्यस्तै, राष्ट्र बैंकले कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ । तर, सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने उल्लेख गरेको छ ।
कम्पनीले कुनै पनि किसिमको कार्यालय खोल्न, शाखा कार्यालय खोल्न वा सञ्चालनमा रहेको शाखा वा केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) स्थानान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । साथै, कम्पनीले शाखा खोलेको जानकारी लगायत सम्पूर्ण विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई दिनुपर्ने उल्लेख छ ।
राष्ट्र बैंककाअनुसार हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले अन्य क्षेत्रमा कर्जा दिन पाउने छैनन् । हायर पर्चेज कर्जा दिने कम्पनीले आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र आफ्नो वित्तीय विवरणको लेखापरीक्षण सम्पन्न गरी सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ ।
हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने उल्लेख छ । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्ने छ । पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले एकभन्दा बढी कम्पनी (बहु–ब्राण्ड) बाट उत्पादित सवारी साधन, मेशिनरी, औजार, उपकरणहरुमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने र सो सम्बन्धी जानकारी सर्वसाधारणलाई दिनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।





About Us
प्रतिक्रिया