प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो: वर्षमान 

प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो: वर्षमान 


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए । 

आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।  पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए ।

 ‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’

 लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो। ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’,उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरूप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’ 

पुनले तत्काल वार्ता गरी शिक्षकहरूका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।