कयौँ ठुला–साना सपना बोकेर काउन्टर नजिक आइपुग्नेहरूका आँखामा मैले दिनहुँ भरोसा र आशाका भावहरू पढ्छु । कोही छोरीको हात समातेर स्कुलका किताब किन्न वा शुल्क तिर्न आउँछन् । कोही निधारभरि पसिना बगाउँदै आफ्नो सपनाको घर बनाउन आउँछन् भने कोही छोराछोरीको भविष्य सुन्दर बनाउन विदेश पढाउने आशाले आउँछन् । कोही आफ्नो व्यवसाय विस्तार गर्न गरगहना बोकेर आउँछन् । कोही भने तत्कालै घाँटीमा लगाएको सिक्री वा तिलहरी निकालेर पसिनाले भिजेका मेहनती हातहरूले आफ्नो गहना मेरो हातमा राख्छन् ।
नेपाल बैंक लिमिटेडको कर्मचारीको रूपमा यस्तै अनुहारहरूसँग आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दै मेरा केही वर्ष यसरी नै बितेका छन् । हतार–हतारमा आउनेहरूलाई छिटो सुविधा दिनु मात्र होइन, थुप्रै चुनौती र जोखिम पनि थपिएका छन् । तैपनि मलाई गर्व लाग्छ कि म त्यो बैंकको कर्मचारी हुँ, जससँग मैले नदेखेका मेरा हजुरबुवा, हजुरआमा लगायत थुप्रै मूर्धन्य व्यक्तिहरू परिचित थिए र उहाँहरूले आफ्नो स्वर्णिम जीवनकाल यहीँ बिताएर परलोक हुनुभयो ।
तर, यी सबै कुरालाई विचार गरेर, आशाका बिउ रोप्न आउनेहरूलाई भरोसाको बिरुवा हुर्काउन म जस्ता कर्मचारी र धेरै अनुभवी अग्रज व्यक्तित्वहरू नेपाल बैंक लिमिटेडबाट सहज रूपमा सेवा प्रदान गर्न तल्लीन छौँ । आजभोलि सुनको मूल्य सुन जस्तै भारी हुँदै आकाशिरहेको छ । आजको समयमा बजारमा हेर्दा गत वर्षको तुलनामा करिब ४० प्रतिशतभन्दा बढीले मूल्य बढेको देखिन्छ । अहिले १ तोला सुनको भाउ १ लाख ९९ हजार रुपैयाँ नाघेको छ ।
त्यसैले अब सुन केवल सौन्दर्यको प्रतीकको रूपमा गहना मात्र नभई दैनिक आवश्यकता पूरा गर्ने साधनका साथै आर्थिक सुरक्षाको महत्त्वपूर्ण सम्पत्ति बन्न पुगेको छ । जब जीवनमा कठिन मोड आउँछ, त्यही गहना तपाईंको भरोसाको सन्दुक बन्न सक्छ । आज हाम्रा ग्राहकहरूले यही गहना सुरक्षित राखेर आफ्ना साना–ठूला सपनाहरू साकार पारिरहेका छन् । सुन कर्जा दिन प्रतिदिन सबैका लागि सहज कर्जा बन्दै गइरहेको छ ।
हो, नेपालमा नेपाल बैंक लिमिटेड मात्र नभई राष्ट्रिय वाणिज्य बैंक र केही अन्य निजी बैंकहरूले पनि सुन कर्जा सेवा दिन थालेका छन् । तर, ग्राहकहरूको प्रतिक्रिया र सुन कर्जाको लगानीलाई हेर्दा, नेपाल बैंक लिमिटेडको सेवामा रहेको सजिलोपन, छिटोपन र भरोसाको अनुभव ग्राहकहरूले फरक महसुस गर्छन् । म आफैँले हरेक दिन अनुभव गर्छु र देख्छु कि बैंकमा आउने ग्राहकहरू केवल कर्जा मात्र नभई केही विश्वास र मिठो अनुभव पनि लिएर जान्छन् ।
वास्तवमा, सुन कर्जा गहना बेचेर पैसा प्राप्त गर्ने उपाय होइन । बरु यो त जीवनभरि सङ्ग्रह गरेको अमूल्य वस्तुलाई सुरक्षित राख्दै, त्यसैको आधारमा कठिनाइहरू पार गर्न धितोमा दिइने कर्जा हो । तपाईं आफ्नो गहना नेपाल बैंकमा सुरक्षित राख्नुहुन्छ । हामी त्यसको दैनिक ताजा बजार दर अनुसार उचित मूल्याङ्कन गर्छौं र बैंकको नीति अनुसार सामान्यतया मूल्याङ्कन रकमको ७५ प्रतिशतसम्म आवश्यक रकम तुरुन्तै उपलब्ध गराउँछौं ।
तपाईंको सुन अत्याधुनिक प्रविधि जडित सुरक्षित भल्टहरूमा बीमा सहित हाम्रो सुरक्षामा रहन्छ । यसरी लिएको ऋण फिर्ता गर्न आउँदा ग्राहकको हिँडाइ र बोलाइमा देखिने मधुरता अनि आशाका किरणहरूले नै थाहा हुन्छ कि यो कर्जाको सहजताले उहाँहरूका सपनाहरू साकार भएका होलान् । धेरै वसन्त पार गरिसकेको नेपाल बैंक लिमिटेडले समय अनुसार परिवर्तन हुँदै सेवालाई अझ सरल र प्रभावकारी बनाउन गोल्ड अटोमेसन अर्थात् कम्प्युटराइज्ड माध्यमबाट गरगहनाको तौल, शुद्धता जाँचदेखि कर्जा सीमा निर्धारणसम्मका प्रक्रियाहरूलाई अझ सहज बनाएको छ ।
यदि तपाईंको खाता पहिले नै नेपाल बैंकमा छ भने, तपाईं बैंकमा आएको केवल २० मिनेटमै सुन कर्जा प्राप्त गर्न सक्नुहुन्छ । यहाँ कुनै झन्झट छैन, लामो प्रतीक्षा गर्नुपर्दैन र कुनै अतिरिक्त शुल्क पनि लाग्दैन । सामान्यतया, आवश्यक कागजातहरूमा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र धितो राखिने सुन (खरिद बिल भएमा त्यो पनि) भए पुग्छ । यदि खाता छैन भने पनि छिट्टै खाता खोलेर सहज रूपमा सुन कर्जा प्राप्त गर्न सकिन्छ ।
वित्तीय पहुँचलाई अझ सरल र समावेशी बनाउन नेपाल बैंकले समय–समयमा विभिन्न अफरहरू ल्याउँदै निःशुल्क खाता खोल्ने सुविधाका साथै महिलाहरूलाई लक्षित गरी तीज विशेष छुट तथा सुविधाहरू प्रदान गर्दै आएको छ । अरू कर्जासरह सुन कर्जाको ब्याज बुझाउने व्यवस्था पनि जीवनलाई सहज बनाउन तयार पारिएको छ — हरेक तीन महिनामा ब्याज बुझाउनुपर्ने हुन्छ । ब्याजदरहरू प्रतिस्पर्धी र समय सापेक्ष हुन्छन्, कर्जा लिनुअघि बैंकको आधिकारिक वेबसाइट वा शाखाबाट हालको ब्याजदरबारे जानकारी लिन सक्नुहुन्छ ।
यस व्यवस्थाका कारण एकैपटक ठूलो रकम तिर्नुपर्ने मानसिक तनाव बढ्न पाउँदैन । साथै, सुन कर्जाको समयावधि एक वर्ष भए तापनि आवश्यकता परेमा नवीकरण गरेर निरन्तरता दिन पनि सकिने हुँदा सुन कर्जा समस्या टार्ने राम्रो विकल्प बनेको छ । केही दिन अघिको कुरा याद आउँछ, करिब बैंक बन्द हुने समयमा एउटी आमा हातमा तिलहरी, मनमा विश्वास बोकेर आउनुभयो र भन्नुभयो, ‘बाबु नमस्कार । मेरो छोरीको पढाइको शुल्क तिर्नु छ, घरमा कोही छैन। पर्सि ११ को बोर्ड परीक्षा छ, आज शुल्क तिर्न सकिएन भने मेरो छोरी परीक्षा दिन पाउँदिन।’
यति भन्दै उहाँले निधार पुछ्नुभयो । त्यो कुरा सुनेर म अलमल्ल परेँ, घडीमा हेर्दा ४ बज्नै लागेको थियो । उता नगद मिलाएर चाँडो राख्नुपर्ने, दिनभरिको थकानले मन भारी भएको थियो । तर, ती आमाको समस्या अगाडि मेरो थकान केही पनि थिएन । ‘हुन्छ, आमा, बस्नुहोस्, केही समय पर्खिनुहोस्,’ भन्दै अरू काम छोडेर उहाँको काम गऱ्यौँ । जाँदा आमा खुसी हुनुभयो । आमाले त्यो कर्जा मात्रै पाउनुभएन, आशा र भरोसा पनि बोकेर जानुभयो ।
जसरी विश्वास गरेर तीन तलामाथि आउनुभएको थियो, जाँदा त्यसरी नै आफ्नो छोरीको भविष्यको गन्तव्यको अधुरो कल्पना मनमनै कोर्दै जानुभयो । त्यतिबेला आमाको अनुहारमा सुनको चमकभन्दा धेरै ऊर्जावान् सन्तुष्टि देखिन्थ्यो । मलाई लाग्यो, सायद बैंकरको खुसी भनेकै यही हो ।
सुन कर्जा सजिलो कर्जा हो। यो कर्जालाई झनै सजिलो, ग्राहकमैत्री र आवश्यकताअनुरूप बनाउन नेपाल बैंक लिमिटेडले दिँदै आएका सेवा तथा विशेषताहरूलाई हेरौँः
– दैनिक बजार मूल्यअनुसार उच्च मूल्याङ्कन
– प्रतिस्पर्धी ब्याजदर (बैंकको वेबसाइट वा शाखाबाट पुष्टि गर्न सकिने)
– सुनको उच्चस्तरीय सुरक्षा (सुरक्षित भल्ट, बीमासहित)
– न्यून कागजातमा आधारित छरितो सेवा (सामान्यतः नागरिकता, फोटो, सुन आवश्यक)
– २० मिनेटमै कर्जा प्रवाह (बैंकमा खाता भएको खण्डमा)
– तीज वा विशेष अवसरमा निःशुल्क खाता खोल्ने सुविधा
– हरेक ३ महिनामा ब्याज बुझाउने सरल व्यवस्था
– एक वर्षे कर्जा अवधि र आवश्यक परेमा नवीकरणको सहजता
– सम्पूर्ण प्रक्रिया पारदर्शी
– ग्राहक–मैत्री र आत्मीय कर्मचारीको व्यवहार
यी विशेषताहरूले गर्दा दिन प्रतिदिन सुन कर्जाको महिमा सुन जस्तै चम्किँदै गएको छ । नेपालका विभिन्न बैंकहरूले सुन कर्जा सेवा दिइरहेका छन् । तर, नेपाल बैंक लिमिटेडको शिर सधैँ उच्च किन रहन्छ भने, यस बैंकले दिने सेवामा पुर्खाहरूले बगाएको पसिना र मेहनतको कमाइको सुरक्षासँगै, थुप्रैका सपना जोडिएका छन् ।
यहाँ इतिहासको सुगन्ध र विश्वास एवं भरोसाको जग निर्माण भएको पाइन्छ । ग्राहकको सपना र विश्वासलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिले हो वा ग्राहकको अटुट विश्वासले हो, दिन प्रतिदिन यो विश्वासको जग अझ फराकिलो बन्दै गएको छ । यद्यपि, सेवालाई अझै थप ग्राहक-मैत्री बनाउन र कर्मचारीलाई थप सशक्त बनाई आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता भने देखिन्छ ।
प्रतिक्रिया