काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिन सक्नेछ ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।
तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गर्नुपर्नेछ।सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएको भन्दै भट्टराईले राजीनामा दिएका थिए । अब सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुनेछ । सिफारिस समितिले पूर्णता पाएसँगै योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
गभर्नर नियुक्तिमा ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच डा.भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा सार्वजनिक भएसँगै भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, उनले दिएको राजीनामा कामु गभर्नर डा. निलम ढुंगानाले तिम्सिनाले अझै स्वीकृत गरिसकेकी छैनन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे कार्यकाल गत चैत २४ देखि सकिएकाे थियाे। राजनीतिक भागबन्डाका कारण पूर्व गभर्नरकाे कार्यकाल सकिएकाे १ महिना पुग्न लाग्दा समेत केन्द्रीय बैंकले गभर्नर पाउन सकेकाे छैन ।
प्रतिक्रिया