काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको बताएकी छिन् । राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको ढुगांनाले बताइन् । साथै, राष्ट्र बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको उनले दाबी गरिन् ।
‘अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भएको छ । आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापन जन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ । उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेका छन्’ डा. ढुंगानाले भनिन् ।
प्रतिक्रिया