राष्ट्र बैंकको वित्तिय साक्षरता आधार सर्वेक्षणः बाग्मती प्रदेश अब्बल हुदाँ मधेश प्रदेश कमजोर

राष्ट्र बैंकको वित्तिय साक्षरता आधार सर्वेक्षणः बाग्मती प्रदेश अब्बल हुदाँ मधेश प्रदेश कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरता आधार सर्वेक्षण सार्वजनिक गरेको छ । देशभरी बाट संकलित उक्त सर्वेक्षण राष्ट्र बैंकले आज सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक तथ्यांक अनुसार महिलाको तुलनामा पुरुषको वित्तिय साक्षरता बढी रहेको छ । पुरुषको वित्तिय साक्षरता अंक ६१.८ प्रतिशत छ, जसमा महिलाको तुलनामा पुरुषको साक्षरता ७.५ प्रतिशतले बढी रहेको केन्द्रिय बैंकले जनाएको छ ।

देशभरिबाट १८ वर्ष माथिका कुल ९ हजार ३ सय ६१ नेपाली नागरिकहरुलाई छनोट गरिएको थियो । सर्वाेक्षणको लागि ७७ जिल्ला मै गरिएको थियो । 
नेपालीहरुको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पाइएको छ । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको छ । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अङ्क प्राप्त गरेका छन । वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अङ्क प्राप्त गरेका छन । 

वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क वागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अङ्कमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिन्छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अङ्क भने सबै प्रदेशहरूमा लगभग समान रहेको छ । 

पुरुषको वित्तीय साक्षरता अङ्क ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो । पुरुषको वित्तीय ज्ञानमा अङ्क ५६.५ प्रतिशत रहेको छ जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी छ । 
युवा पुस्ताहरु वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन् । खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि छन् । १८ देखि ३० वर्षका मानिसरुको वित्तीय साक्षरता अङ्क ६३.२ प्रतिशत रहेको छ जबकि ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशत पाइएको छ । त्यस्तै शिक्षाको तह बढ्दै जादा वित्तीय साक्षरता बढ्दै गएको छ ।

रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशा र कृषि क्षेत्र भन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रुपमा धेरंै रहेको छ । 
वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ । बचत उपकरणहरू मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन । 

वयस्क जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन । लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तिमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन । अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि माथि निर्भर रहेका छन । 

सूचकमा तुलनात्मक रुपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका छन् । भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ । कृषि, निर्माण र अन्य क्षेत्रहरूमा रहेका कामदारहरू कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन् । अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिसहरु सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन । २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा शेयर राखेका छन् । तुलनात्मक रुपमा युवा पुस्ताको उच हिस्साले बचत, लगानी उपकरणहरूको प्रयोग गर्ने गरेको पाइएको छ । अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन् । 
सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७.६० प्रतिशतले मात्र बैक कर्जा उपयोग गरेका छन्  । कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन् । राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन् । 
महानगर, कम उमेर समूह, उच्च स्तरको औपचारिक शिक्षा भएको जनसंख्या, स्वरोजगार र तलब तथा ज्यालादारीहरू, औपचारिक क्षेत्रका कर्मचारीहरू, उच्च सीप भएका जनशक्तिहरू र उच्च आय समूहहरुमा वित्तीय उपकरणहरूको प्रयोग गर्ने हिस्सा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।